सूचनाको शक्ति - The Power Of Information

        

ओलीपक्षीय नेताहरूको भेला आज बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् । सोमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला बोलाइएको हो । भेलामा सहभागिताका लागि ओलीले आफू पक्षीय सचिवालय सदस्य, स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सांसदलाई खबर गरिएको स्रोतले जनाएको छ ।

नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संघीय प्रतिनिधिसभा विघटन गरेपछि मुलुक तरंगित भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधिसभा विघटन गरेकी हुन् । पार्टीका सबै निकाय र संसदीय दलमासमेत अल्पमतमा पर्दै गएपछि उनले अठात प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

आइतबार पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ । नेकपाले केन्द्रीय कमिटी बैठक पुस ७ गतेको लागि बोलाएको छ । संवैधानिक कानुनका ज्ञाताहरुले भने संविधानले ओलीलाई संसद विघटनको अधिकार नदिएको बताइरहेका छन् । सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गर्ने उनीहरुको मत छ ।

आइतबार नै संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका छन् । अधिवक्ताहरू लोकेन्द्र वली, कञ्चनकृष्ण न्यौपाने र सुलभ पोखरेलले सर्वोच्चमा निवेदन दिएका हुन् । उनीहरूले बहुमत प्राप्त सरकारले तीन वर्ष नबित्दै संसद् विघटन गर्नु संविधानविपरीत भएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०७:४३