सूचनाको शक्ति - The Power Of Information

        

सिक्टाबाट पहिलोपटक हिउँदे सिँचाइ

बाँके । सिक्टा सिँचाइ आयोजनाले पहिलोपटक हिउँदयाममा नहर सञ्चालन गरेपछि गहुँ, तोरी लगायतका खेती गर्ने बाँकेका किसान उत्साहित भएका छन् ।

आयोजनाले पश्चिमी मूल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजनाथ क्षेत्रका किसानले करिब २० हजार हेक्टरको गहुँ र तोरी खेतीमा सिँचाइ भएको कृषि ज्ञान केन्द्र, नेपालगन्जले जनाएको छ ।

विगतमा सिँचाइ अभावले ती क्षेत्रमा निकै कम जग्गामा मात्रै खेती हुने गरेको तर यस वर्ष हिउँदमा पानी उपलब्ध भएपछि धेरै क्षेत्रफलमा खेती भएको र उत्पादन पनि बढ्ने केन्द्र प्रमुख सागर ढकालले बताए ।

सिक्टाकै कारण यस वर्ष बाँकेमा धान उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको जानकारी दिँदै उनले हिउँदे खेती गर्ने किसानको सङ्ख्या पनि २५ प्रतिशत बढेको बताए । विगतमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहुँ र तोरी खेती गरेको राँझाका किसान नरेन्द्र बर्माले बताए ।

बैजनाथ गाउँपालिका वडा नं. ४ का किसान जीवन थारूले सिँचाइ सुविधा भएपछि धान उत्पादन राम्रो भएको बताउँदै अब गहुँ र तोरी खेती पनि राम्रो हुने आशा व्यक्त गरे । सिक्टाको मूल नहरको निर्माणकार्य सम्पन्न भएपछि किसानले नहरबाट पम्पसेटबाट पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेकाले सबै खेती राम्रो हुँदै गएको सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाले बताए ।

उनका अनुसार मूल नहरबाट किसानको खेतसम्म पानी पुर्याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब सय किलोमिटर नहर निर्माण भइरहेको छ । बाँकेका करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य २०७० सालको माघसम्म पूरा हुने लक्ष्य थियो ।

तर, निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माण करिब ६५ प्रतिशत मात्रै सकिएको छ । आयोजना सुरु हुँदा १२ अर्ब ७० करोड रुपियाँको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अहिले लागत बढेर दोब्बरभन्दा बढी पुगेको बताइएको छ ।

प्रकाशित मिति : ६ पुष २०७७, सोमबार ०६:३०