सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटन प्रकरण

सात जना मन्त्रीले दिए राजीनामा

प्रतिनिधिसभा विघटन भएलगत्तै राजीनामा घोषणा गर्दै सरकारका सात जना मन्त्रीहरु ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधिसभाको विघटनगरेपछि सत्तारुढ नेकपाका सात मन्त्रीले राजीनामा दिएका छन् । आइतबार अपरान्ह सिंहदरबारस्थित कृषि समितिको सभाहलमा पत्रकार सम्मेलन गर्दै नेकपाका ७ मन्त्रीले सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राजीनामा पत्र पढेर सुनाएका थिए । यसरी राजीनामा दिनेहरुमा पूर्वमाओवादी खेमाबाट मन्त्री बनेका उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् भने पूर्व एमाले (नेपाल समूह)बाट मन्त्री बनेका घनश्याम भुसाल र योगेश भट्टराई रहेका छन् ।

राजीनामाका लागि पूर्व माओवादी समूहकै गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टलाई पनि खबर गरिएको र उनीहरुबाट कुनै प्रतिक्रिया नआएको एक मन्त्रीले बताए । ‘उहाँहरु दुवै जना (थापा र भट्ट)लाई खबर गरेका हौँ, उहाँहरुले कुनै प्रतिक्रिया दिनुभएको छैन,’ ती मन्त्रीले भने । पूर्वमाओवादी नेताहरू लेखराज भट्ट र रामबहादुर थापा बादलले भने राजीनामा नदिने बुझिएको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १६:४१