सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीको कदम

राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा, वैशाख १७ र २७ मा प्रतिनिधिसभाको चुनाव तय

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचनसमेत तय भएको उल्लेख छ ।

‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केही मन्त्रीहरुको असहमतिका बीच प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका थिए । संसद विघटनसम्बन्धी प्रधानमन्त्रीको चौतर्फी विरोध भइरहेको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार १५:२०