सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या चार हजार नाघ्यो

फाइल तस्बीर

बाँके । बाँकेमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या चार हजार नाघेको छ । हालसम्म जिल्लामा चार हजार २८ जना कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किएका जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन मानव नेपालीका अनुसार पछिल्लो समयमा आएर जिल्लामा निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा चार हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको जनाउँदै फोकल पर्सन नेपालीले तीमध्ये हालसम्म चार हजार २८ जनाले कोरोनालाई पराजित गर्न सफल भएको बताए ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार सङ्क्रमणबाट उपचार हुँदाहुँदै जिल्लामा हालसम्म १५ महिला र २६ पुरुष गरी ४१ जनाको मृत्यु भइसकेको छ भने ३५ जना कोरोना सङ्क्रमणका कारण गम्भीर बिरामीको अहिले पनि भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

फोकल पर्सन नेपालीका अनुसार अस्पतालमा कोभिडको उपचार गराउने मध्यम खालका बिरामीको सङ्ख्या ४१ रहेको छ भने आठ जना सामान्य खालका गरेर ८४ जना अस्पतालमा भर्ना भएका छन् । जिल्लामा होम आइसोलेसन र अस्पतालमा गरेर निको हुन बाँकी रहेका कोभिड सङ्क्रमितको सङ्ख्या २५८ रहेको छ ।

पछिल्लो समयमा आएर निको हुने दर बढ्दै गएपछि हाल आएर जिल्लामा निको हुनेको प्रतिशत करिब ९५ पुगेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । हालसम्म बाँकेमा ४० हजार ९८६ जनाको स्वाब परीक्षण गरिएकोमा चार हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३६ हजार ६९१ जनाको नतिजा नगेटिभ आएको छ ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०८:२०