सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज कारागारबाट फरार भएका कैदी बर्दियामा समातिए

बाँके । नेपालगन्ज कारागारबाट शुक्रबार भागेका चौकिदार कैदीलाई शनिबार बर्दियाबाट प्रहरीले पक्राउ गरेको छ । बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सुभाष खड्काले कारागारबाट भागेका चौकिदार कैदी पवन पुनलाई प्रहरीले खोजी गर्दै जाँदा बर्दियाको मधुवन–३, ओराली बजारबाट शनिबार बिहान पक्राउ गरेको बताए ।

उनले कैदीलाई पक्राउ गरेर नेपालगन्ज कारागार पुर्याइसकिएको पनि बताए । कारागारका चौकिदार कैदीलाई विशेष काम पर्दा बाहिर निस्किने छुट हुने हुँदा कामविशेषले भन्दै बाहिर निस्किएका चौकिदार पुन फरार भएका थिए । कैदी फरार भएलगत्तै बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको संयोजकत्वमा प्रहरी नायव उपरीक्षक सहितको छानबिन समिति गठन गरिएको थियो ।

नेपालगन्ज कारागारबाट केही वर्षअघि पनि एक चौकिदार कैदी यसरी नै फरार भएका थिए । उनलाई पनि बर्दियाबाटै पक्राउ गरिएको थियो । लामो समयसम्म कैद भुक्तान गरिसकेका र इमानदारीका आधारमा कैदीको सहयोगका लागि कैदीबाटै चौकिदार छनोट गरिने गरिएको छ । उनीहरू कामको सिलसिलामा जेलबाहिर आउजाउ गर्न पाउँछन् ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०८:१५