सूचनाको शक्ति - The Power Of Information

        

सवारी लाइसेन्सको परीक्षा र ट्रायल खुलाउने तयारी

काठमाडौं । कोरोना महामारीका कारण झन्डै ९ महिनादेखि बन्द विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी परीक्षा खुलाउने तयारी गरिएको छ । कोरोना नियन्त्रणका लागि भनेर सरकारले गत ११ चैतमा सरकारले लकडाउन गरेदेखि स्थगित लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गर्ने प्रक्रिया अघि बढाइएको हो ।

यातायात व्यवस्था विभागले सवारीसाधन दर्ता र नवीकरण सेवा भने गत असारदेखि नै दिइरहेको छ । अब भने लाइसेन्सको लिखित परीक्षा र ट्रायल पनि विभागले खुलाउन लागेको हो । तर कोरोना जोखिम अझै नहटेकाले कोटा तोकेर आवेदन खोल्ने तयारी भइरहेको विभागले जनाएको छ । लाइसेन्स लिन चाहनेको संख्या बढेको भन्दै विभिन्न प्रदेशले विभागलाई पत्राचार गरिरहेका छन् ।

परीक्षा सञ्चालनका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन सबै कार्यालयलाई पत्राचार गरिसकिएको विभागले जनाएको छ । साथै अब अब ट्रायल पास गरेको एक महिनाभित्रै लाइसेन्स पाउने गरी व्यवस्था मिलाइएको पनि विभाग स्रोतले जानकारी दिएको छ । पहिले यसका लागि निकै समय कुर्नुपर्थ्यो ।

प्रकाशित मिति : ५ पुष २०७७, आइतवार ०७:५१