सूचनाको शक्ति - The Power Of Information

        

विकास

सिक्टाको पानी आएपछि बाँकेमा २० हजार हेक्टरमा गहुँ तथा तोरी खेती

बाँके । सिक्टा सिँचाइ आयोजनाले पहिलो पटक हिउँदे सिजनको खेतीका लागि नहर सुचारु गरेर पानी उपलब्ध गराएपछि गहुँ तथा तोरी खेती गर्ने बाँकेका किसानहरु उत्साहित भएका छन् । आयोजनाले किसानको मागअनुसार पश्चिमी मूल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजनाथ क्षेत्रका किसानहरुले करिब २० हजार हेक्टरमा गहुँ तथा तोरी खेतीका गरेको कृषि ज्ञान केन्द्र नेपालगञ्जले जनाएको छ ।

विगतका वर्षहरुमा सिंचाइको अभावले गर्दा ती क्षेत्रमा निकै कम खेती हुने गरेकोमा यस वर्ष हिउँदमा सिक्टाले नहरमा पानी छोडेपछि २० हजार हेक्टरमा गहुँ र तोरीको खेती गरिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले बताए । उनले सिक्टाकै कारण यस वर्ष बाँकेमा धान उत्पादन करिब २५ प्रतिशतले बृद्धि भएको जनाउँदै हिउँदे खेती गर्ने किसानको संख्या पनि पनि २५ प्रतिशत बढेको बताए ।

विगतका वर्षहरुमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहु र तोरी खेती गरेको राँझाका किसान नरेन्द्र बर्माले बताए । सिँचाइ सुविधा उपलब्ध भएपछि यस वर्ष बाँकेमा गहुँ र तोरी खेती गर्ने किसानहरुको संख्या पनि करिब २५ प्रतिशत बढेको छ । यसैगरी बैजनाथ गाउँपालिका–४ का किसान जीवन थारुले सिँचाइ सुविधा भएपछि धान उत्पादन राम्रो भएको जनाउँदै अब गहु र तोरी खेती पनि गरिएकोले सो पनि राम्रो फल्ने आशा गरिएको बताए ।

सिक्टाको मूल नहरको निर्माण कार्य सम्पन्न भएपछि किसानहरुले मुल नहरबाट पम्पसेट लगाएर पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेकोले सबै खेती राम्रो हुँदै गएको सिक्टा सिचाई आयोजनाका प्रमुख लोकबहादुर थापाले बताए । उनले यस वर्ष धान खेती शुरु हुने मौसममा नहरमा पानी बगाएकोले धान खेती राम्रो हुनुका साथै अहिले हिउँदे खेती पनि राम्रो भैरहेको जनाए ।

आयोजना प्रमुख थापाका अनुसार मूल नहरबाट किसानको खेतसम्म पानी पुर्याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब १०० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य २०७० सालको माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो ।

तर, निर्माण सम्पन्न हुनुपर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत मात्रै सकिएको छ । आयोजना सुरु हुँदा १२ अर्ब ७० करोड रुपैयाँको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएकोमा अब सो पूरा गर्न दोब्बर बढी लागत लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार १६:२९