बाँके । जाडोयाममा तराईमा देखिने शीतलहरको समस्याले विगतमा जस्तै यस वर्ष पनि बाँके, बर्दिया लगायतका जिल्लामा वर्षेनी जनजीवन कष्टकर बन्ने गरेको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको हो ।
शीतलहरसँगै बढ्ने कठ्याङ्ग्रिने जाडोले सर्वसाधारणको दैनिकीमा प्रतिकूल प्रभाव परेको छ । चिसोवाट वृद्धवृद्धा, बालवालिका र दैनिक मजदूरी गरेर जिविका चलाउने वर्ग बढी प्रभावित हुने गरेका छन् । पहाडी क्षेत्रका जिल्लामा पारिलो घाम लाग्दा यतिबेला बाँके, बर्दिया लगायतका जिल्ला कुहिरो र हुस्सुले ढाकिने गर्छन् ।
दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम नझुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । शीतलहरसँगै बढेको जाडोले कोरोना भाइरसको सङ्क्रमण हुने जोखिम पनि बढेको छ । चिसो मौसममा धेरै भाइरल इन्फेक्सन सक्रिय हुने गरेकाले कोरोनाको जोखिम बढ्न सक्ने चिकित्सकहरु बताउँछन् ।
‘प्रकृति हेर्दा कोरोना अझैँ बढ्न सक्ने देखिन्छ,’ भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाश थापाले भने, ‘यस्तो बेलामा धेरै व्यक्ति भेन्टिलेशनको सुविधा नभएको एउटै कोटामा बस्न पनि जोखिम हुनसक्छ ।’ अहिलेको चिसो मौसममा सकभर एउटै कोठामा धेरै व्यक्ति नबस्न, चिसोबाट जोगिने उपाय अपनाउन उनको सल्लाह छ ।
जाडो बढेसँगै स्वास्थ्य संस्थामा रुघाखोकी, निमोनिया, ज्वरो र दमका रोगी बढ्न थालेको जनाइएको छ । पछिल्लो तीन दिनयता यस क्षेत्रमा न्यूनतम तापक्रम निरन्तर घट्दै गएको जल तथा मौसम विज्ञान विभागको फिल्ड कार्यालय राँझाले जनाएको छ । बाँके र बर्दिया लगायत तराईका जिल्लामा चार दिनयता एक्कसी चिसो बढेको छ ।
चिसो ह्वात्तै बढेकाले सरकारी तथा गैरसरकारी निकायमा सेवाग्राहीको उपस्थितिसमेत पातलिन थालेको छ । आकाश कुहिरोले ढाकेको छ भने चिसो पनि बढेको छ । तीव्ररुपमा चलेको चिसो हावाले सर्वसाधारणलाई घर बाहिर निस्कन र काममा जान समेत मुस्किल हुन थालेको छ । चिसोका कारण विद्यालय जाने बालबालिकाको संख्यामा पनि कमी आएको छ ।
चिसोकै कारण केही दिनअघिको तुलनामा तुलनामा स्वास्थ्य केन्द्रहरुमा आउने बालबालिकाको संख्या बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । चिसोका कारण स्थानीय अस्पतालहरुमा निमोनियाका विरामीहरु आउन पनि आउन थालेको डाक्टरहरुले बताएका छन् । चिसोका कारण बालबालिकामा रुघाखोकीको समस्या पनि देखिन थालेको छ ।
चिसोबाट बालबालिकालाई बचाउन न्यानो कपडाका साथै टोपी, पन्जा लगाइदिने, चिसोमा धेरै खेल्न दिन नहुने, तातो र झोलिलो खाने कुरा खुवाउनुपर्ने भेरी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डा.शकिल अहमद खाले बताए । चिसोबाट बच्न नेपालगन्जबासीले सहरका ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् । चिसो बढेपछि बजारमा चहलपहल पनि घटेको छ ।
सवारी साधनहरु पनि दिउँसो बत्ती बालेर गुड्नुपर्ने अवस्था आएको छ । बाक्को हुस्सका कारण नेपालगन्ज विमानस्थलबाट मध्य पश्चिमका पहाडि जिल्लामा हुने उडानहरु अवरुद्ध भएका छन् । हुस्सुका कारण घाम लाग्न नसकेको छैन भने हिमाली तथा पहाडी जिल्लामा निरन्तर हिमपात पनि सुरु भएको छ ।
खराब मौसमका कारण बाँकेको नेपालगन्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएका भएका छन् । नागरिक उड्डययन प्राधिकरण नेपालगन्जका अनुसार बाक्लो हुस्सु लागेका नेपालगन्जबाट हुने हवाई उडानहरु प्रभावित भएका छन् । नेपालगन्जबाट काठमाडौंका लागि बिहानमा हुने उडानहरु पनि डिले हुन थालेका छन् ।
विमान उडानका लागि कम्तिमा १ हजार ६०० मिटरसम्म देखिने हुनुपर्छ । बाक्लो कुहिरो र हुस्सुका कारण अहिले नेपालगन्जको आकाशमा १ हजार मिटरसम्मको दृश्य पनि देख्न मुस्किल भएको विमानस्थलले जनाएको छ । नेपालगन्ज विमानस्थलबाट ६ नम्बर प्रदेशका पहाडी जिल्ला तथा काठमाडौंमा गरेर दैनिक २० वटा उडान हुँदै आएका छन् ।
यता, लामो समयसम्म हुने शीतलहरका कारण देखिने डढुवा रोगको प्रकोपले आलु, गोलभेँडा, तोरी लगायतका बाली नष्ट हुने समस्या स्थायी समस्या भइसकेको छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायीकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।
यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’ (पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडा लगायतका तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् । कृषि प्राविधिकका अनुसार यस्तो विषादी प्रत्येक सात–आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिन्छ ।
पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ । रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ ।
लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडा लगायतको बालीमा डढुवा सङ्क्रमको समस्या हुने गरेको छ । ढुसी नाशक विषादी छर्केर बाली बचाउन सकिन्छ । यसका लागि क्रिनोसिल गोल्ड, मेटाल्याक्जेल, एक्रोप्याट वा सेन्टिन नामको ढुसी नाशक बिषादी प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किन सकेमा यो रोगवाट बाली बचाउन सकिने ढकाल बताउँछन् ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार रोग लाग्ने सम्भावना देखिएमा बोटमा तोकिएको मात्रामा मेन्कोजे पाउडर पानीमा घोलर छर्किदा डढुवाको सङ्क्रमणबाट बाली जोगाउन सकिने बताइएको छ । बाँके डुडुवा–५ का रामदिन कुर्मी आफ्नै उमेरमा मौसममा आएको परिवर्तन देख्दा अनौठो लागिरहेको बताउँछन् । पहिलेको तुलनामा अहिले मौसममा निकै परिवर्तन आएको उनको भनाई छ ।
‘पहिले गाउँमा यतिबेला तोरी फुलेर हुने पहेँलपुर वातावरणले गाउँमा रमाइलो हुने हुन्थ्यो,’ ६८ वर्षीय कुर्मीले भने । मौसममा आएको परिवर्तनसँगै देखिने डढुवा रोगको समस्या हुनसक्ने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख ढकालको भनाई रहेको छ । ‘एउटै खेतमा लगातार एकै बालीको खेती गरिरहने र गुणस्तरीय बीउ पनि प्रयोग नहुँदा डढुवाको सङ्क्रमणको समस्या देखिएको छ,’ प्रमुख ढकालले भने ।
सत्यपाटी ।