सूचनाको शक्ति - The Power Of Information

        

ओली र दाहालको छलफलमा गौतम पनि सहभागी

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको वार्तामा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी हुनुभएको छ । दुई अध्यक्षबीच छलफल चलिरहँदा उपाध्यक्ष गौतम पनि छलफलमा पुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्रीले आलटाल गरिरहँदा दुई अध्यक्षबीच शनिबार प्रचण्ड निवासमा भेटवार्ता भएको हो ।

उहाँहरुबीच शुक्रबार बेलुका मात्र बालुवाटारमा छलफल भएको थियो । पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार भेटलाई अर्थपूर्ण रुपमा हेरिएको हो ।

शुक्रबार प्रचण्ड–नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरी ओलीमाथि दबाब बढाएका थिए । उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी प्रचण्डले दिनुभएको थियो ।

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र प्रचण्ड–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो । तर सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको थियो । प्रचण्डको दबाब पछि ओली परिषद्को बैठक रोक्न बाध्य हुनु भएको थियो ।

प्रधानमन्त्री ओलीले यो कदमबाट प्रचण्ड नेपाल समुह थप आक्रोश बनेको छ । गत कात्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव ल्याएपछि त्यसको जवाफमा ओलीले पनि मंसिर १३ गते आफ्नो प्रतिवेदन सचिवालयमा पेश गरेयता नेकपा विवाद छताछुल्ल भएको छ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार १२:१८