बझाङ । बझाङको केदास्यु गाउँपालिका र बुंगल नगरपालिका हुदै दार्चुला जोड्ने बागथला–विजगडा–गनै सडकको शिलन्यास गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शुक्रबार सडक शिलान्यास गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकारको ८२ करोडको लागतमा निर्माण हुन लागेको सडकको धनगढीस्थित केएस कन्ट्रक्सनले ठेक्का पाएको छ ।
दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २४ किलोमिटर सडकमा मेसिनरिवाल कल्भर्ट नाली र सडक कालोपत्रे हुने भएको छ । सडक स्तरोन्नतीको काममा बाधा नआए सम्झौता अवधीमै काम सम्पन्न गर्न मन्त्री बोहोराले जोड दिए । उक्त सडक शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बोहोराले पछिल्लो समय पहाडी जिल्लाहरुमा विकासका पूर्वाधार नभएको हुँदा बसाइ सर्नेको संख्या बढ्दै गएको अवस्थामा सडक आयोजनाले बसाईसराई दरलाई पनि कम गर्ने बताए ।
बुंगल क्षेत्रमा प्रशस्त विकासको सम्भावना भएको भए पनि सडक सञ्जालको पहुँच नहुँदा ओझेलमा परेको र प्रदेश सरकारले यस्ता सम्भावनालाई बाहिर ल्याउन यस क्षेत्रको विकास गरी स्वरोजगार तथा आर्थिक उन्नतीका लागि यस सडकले महत्वपूर्ण सहयोग पुर्याउने बताए । मन्त्री बोहोराले प्रदेश सरकार जनताको विकास र यस क्षेत्रको विकासको लागि लागिपरेको पनि बताए ।
जिल्लाको पछाडि परेको बुंगल क्षेत्रको मुख्य सडक बागथला भएर विचगडा हुँदै दार्चुला र बझाङको सिमाना गनै लेक हुँदै दार्चुला सदरमुकाम जोडिनेछ । अहिले जिल्लाका साइपाल गाउँपालिकाबाहेक ११ ओटै पालिका केन्द्र साथै अन्य गाउँगाउँमा पनि सडक सञ्जाल जोडिएपछि नागरिकहरुलाई सहज भएको छ । पिच हुने सडकको शिलान्यास गर्न मन्त्री बोहरासहित प्रदेश सांसद देवकी मल्ल, शान्ती नेपालीसहित जिल्लाका सुरक्षा निकायका प्रमुखसहित मन्त्रालयका कर्मचारीहरुको पनि सहभागिता थियो ।
सत्यराज सिंह ।