सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोभिड–१९ को संक्रमण निको हुने दर ९५ प्रतिशत नाघ्यो

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण दर घट्दै गएको छ । पछिल्लो समय संक्रमण मुक्त हुने दरमा वृद्धि हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल संक्रमण मुक्त हुने दर ९५ दशमलव ६ प्रतिशत पुगेको छ ।

केही महिनाअघिसम्म पाँच हजारको परीक्षण गर्दा दुई हजारभन्दा धेरैमा संक्रमण देखिन्थ्यो । हाल पाँच हजारको परीक्षण गर्दा वढीमा एक हजारमा संक्रमण देखिन थालेको छ । यो अवस्थाले संक्रमण कम हुँदै गएको देखिएको जनस्वास्थ्य विज्ञले बताएका छन् ।

निको हुने दरमा क्रमशः वृद्धि हुँदा सकारात्मक परिणाम देखिँदै आएको उनीहरुको भनाई छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार पाँच हजार ७०६ को परीक्षण गर्दा जम्मा ७८२ मा मात्रै संक्रमण देखिएको छ । जसमा ३०५ महिला र ४७७ पुरुष छन् ।

गएको २४ घण्टामा एक हजार २९ जना संक्रमण मुक्त भएका छन् । यसले संक्रमण दरभन्दा निको हुने दर बढ्दो क्रममा रहेको गौतमले बताए । सर्वसाधारणले सावधानी अपनाउँदा संक्रमणको जोखिम कम हुँदै गएको विज्ञहरुको दाबी छ ।

हालसम्म नेपालमा दुई लाख ५२ हजार कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४१ हजार पुगेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोभिड–१९ संक्रमणको कारण एक हजार ७६५ को मृत्यु भएको छ । संक्रमणको कारण शनिबार १६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ४ पुष २०७७, शनिबार ०९:००