राजविराज । विद्युत सर्ट भई आगलागी हुँदा एक बृद्धको जलेर मृत्यु भएको छ ।
राजविराज नगरपालिका १६ स्थित बोरिया टोलमा शुक्रबार बिहान ३ बजेतिर विद्युत सर्ट भई मिश्रिलाल यादवको घरमा आगलागी हुँदा उनका ८५ वर्षीय बुबा झलाय यादवको जलेर मृत्यु भएको हो ।
खाना खाएर राति १० बजेतिर घरआंगनमै रहेको गोठमा सुतेका उनी बिहान ३ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी हुँदा भाग्न नसकेर जलेको र घटनास्थलमै मृत्यु भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए । बाक्लो शितलहरका समयमा आगलागी भएकोले ढिलो गरी थाहा हुँदा समयमै पीडितको उद्धार गर्न नसकेको स्थानिय सत्यनारायण यादवले बताए ।
टिनको छाना तथा फुस र टाटीको बेराले बनेको घरका साथै लत्ता कपडा, भाडाकुडा, खाद्यान्नलगायतका सरसामान जलेर नष्ट हुँदा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको मृतकका छोरा मिश्रिलालले बताए । आगलागीमा एक चौपायसमेत जलेर मरेका छन् ।
राजविराज नगरपालिकाको बारुणयन्त्र, स्थानियवासी र प्रहरीको मद्धतले एक घण्टको प्रयासपछि आगो नियन्त्रण गरिएको राजविराज नगरपालिका बारुणयन्त्र विभागका कर्मचारी गघन बहादुर बुढाथोकिले बताए ।
आगो नियन्त्रणमा आएपछि पहिचान नै हुन नसक्ने अवस्थामा कोठाको कुनामा झलाईको शव फेला परेको तथा पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पठाइएको डिएसपी साहले बताए ।
सत्यपाटी ।