सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

पेरिसडाँडामा प्रचण्ड–नेपाल पक्षको भेला

काठमाडौं । पछिल्लो समय सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र गुटका भेला र बैठकहरुले तीव्रता पाएका छन् । नेकपाभित्र आन्तरिक संकट चुलिएका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षले आन्तरिक भेला तीव्रता दिएका हुन् ।

शुक्रबार मात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले काठमाडौंमा प्रदेश १ को भेलाको आयोजना गरेको छ । भेला पेरिसडाँडामा १ बजेदेखि सुरु हुनेछ । जसका लागि जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाइएको छ ।

पार्टीको पछिल्लो अवस्थाबारे जानकारी दिन भेलामा प्रदेश १ का सबै जिल्लाका अध्यक्ष, सचिव, १ बाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद उपस्थित हुने कार्यक्रम रहेको नेकपा प्रदेश–१ का सचिव सुरेशकुमार राईले जानकारी दिए । भेलालाई कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम छ ।

‘भेलामा करीब ५० जनाजति नेता सामेल हुने पक्कापक्की भएको छ,’ नेकपा प्रदेश–१ का सचिव राईले भने । प्रचण्ड–नेपाल पक्षले विद्यार्थीको भेलासमेत विभिन्न प्रदेशमा गरिसकेको छ । अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पक्षले पनि भेला आयोजना गर्दै आएको छ । नेकपामा चलिरहेको अन्तर्द्वन्द्वलाई सही ढंगबाट नेता कार्यकर्तालाई बुझाउने उद्देश्यले भेला आयोजना गरिएको जनाइएको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १२:२७