सूचनाको शक्ति - The Power Of Information

        

विकास

सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणको काम सकियो

बाँके । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माण सम्पन्न भएको छ । मूल नहर निर्माण सम्पन्न भएसँगै आयोजनाको पहिलो चरणको काम करिब पूरा भएको छ । सिक्टा सिँचाइ आयोजनालाई तीन चरणमा सम्पन्न गर्ने प्रस्तावित गुरुयोजना अनुसार पहिलो चरणको कार्य मूल नहर निर्माण सम्पन्न भएको छ ।

आयोजनाका निर्देशक लोकबहादुर थापाका अनुसार संशोधित गुरुयोजनाअनुसार आयोजनाको लागत र समयावधि बढाउने तयारी थालिएको छ । यसअघि २०७६/०७७ मा सम्पन्न भई कूल रु २५ अर्ब दुई करोड खर्च लाग्ने अनुमान गरिएकोमा प्रस्तावित दोस्रो संशोधन अनुसार रु ३९ अर्ब लागत र २०८५/०८६ मा सम्पन्न गर्ने अनुमान गरिएको निर्देशक थापाको भनाइ छ ।

आयोजनाले पश्चिमी मूल नहर र पू्र्वी नहर निर्माण सम्पन्न भएसँगै पानी सञ्चालन गरेपछि किसानको खेतमा राप्ती नदीको पानीले सिँचाइ भइरहेको छ । नहरको पानी खेतबारीमा पुगेपछि यो वर्ष समयमै धान रोपाइँ र गहँुखेती गर्न पाएका छन् । आयोजनाका निर्देशक थापाले पश्चिमी मूल नहरको जेठी नालासम्म र पू्र्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत किसानको खेतबारीमा पानी पुगेको बताए ।

उनका अनुसार पश्चिमी मूल नहरअन्तर्गत रहेका सिधनिया, डुडुवा र जेठी नाला शाखा र पू्र्वी नहरको साविक राजकुलो सिँचाइको पुरानो नहर हुँदै किसानको खेतबारीमा पानी छाडिएको हो । ‘हामीले गत वैशाख पहिलो हप्तादेखि नहरमा नियमित पानी छाडेका छौँ, विभिन्न शाखा र प्रशाखाबाट किसानको खेतसम्म पानी पुर्याउने काम भइरहेको छ,’ आयोजना निर्देशक थापाले भने, ‘आयोजनाको सिँचाइ लक्ष्यको करिब आधाजसो क्षेत्रफलमा सिक्टाको पानी पुगेको छ ।’

आठ वर्षमा सकिने लक्ष्यसहित आर्थिक वर्ष २०६३ बाट शुरु भएको आयोजनाको आव २०७१/०७२ को संशोधित गुरुयोजनाअनुसार २०७७ भित्र निर्माण सम्पन्न हुने लक्ष्य रहेको थियो तर आयोजना शुरु गर्दा पश्चिम नहर मात्र निर्माण गर्ने गरी क्षेत्र तोकिएकामा पछि आएर पूर्वी नहर थप हुनु, सामाजिक सरोकारका काम, नदी संरक्षणका कामलगायत थप संरचना निर्माण गर्नुपर्ने भएपछि गुरुयोजना संशोधन गरी लागत र समयावधि बढाउनुपर्ने अवस्था आएको निर्देशक थापाले बताए ।

सिक्टा सिँचाइ आयोजना शुरु भएदेखि हालसम्म करिब ६४ प्रतिशत प्रगति भएको छ भने रु १६ अर्ब खर्च भइसकेको छ । पश्चिमी र पूर्वी गरी आयोजनाका दुई मूल नहर छन् । आयोजनाले बाँकेमा पश्चिमी नहरबाट ३३ हजार ७६६ र पूर्वी नहरबाट नौ हजार हेक्टर गरी ४२ हजार ७६६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य छ । यसअघि परीक्षण गर्ने क्रममा दुई पटक उक्त आयोजनाको पश्चिम मूल नहर पहिलो पटक ढकेरीस्थित झिझरी खोला र दोस्रो पटक चङ्गाई नाला नजीक भत्किएको थियो । अहिले भने पानी सञ्चालन हुँदा पनि नहरमा कुनै समस्या नदेखिएको आयोजनाले जनाएको छ ।

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार ०७:४०