बाँके । बाँकेमा जनप्रतिनिधिले नै अवैध क्रसरहरु सञ्चालन गरिरहेको पाइएको छ । राप्तीसोनारी गाउँपालिका–२ मा अवैधरुपमा क्रसर सञ्चालन हुँदै आएको छ । जसमा नेकपाका नेताहरुको मिलेमतो छ । वडा नम्बर २ का वडा सदस्य ज्ञानबहादुर ओली, सो गाउँपालिकाका युवा संघका अध्यक्ष समिर बिष्ट र उनका भाई मिलेर मधुवामधुई र हरिहरपुरको बीचमा बग्ने मुगुवा खोलाबाट अवैध उत्खनन् भइरहेको छ ।
गृह मन्त्रालयले मापदण्ड विपरीतका सबै क्रसर बन्द गराउन निर्देशन दिए पनि यहाँ भने प्रशासन समेतको मिलेमतोमा दोहन भइरहेको छ । खोलामा जेसिबी प्रयोग गरेर उत्खनन् गर्न पाँइदैन । तर, स्थानीय तहकै मिलेमतोमा राति १० बजेपछि जेसिबी प्रयोग गरी उत्खनन् हुने गरेको छ । यसरी उत्खनन् हुने ढुंगा, गिटी र बालुवा एउटै पूर्जीको आधारमा धेरैपटक निकासी हुने गरेको छ । यसमा नेकपाका जिल्ला सचिव अशोक कोइराला लगायतको मिलेमतो छ ।
उनीहरु यस्तै अवैध कामबाट रातारात करोडपति भएका व्यक्ति हुन् । उनीहरु अवैध जुवा खेलाउनमा समेत सक्रिय छन् । ओली नक्कली नोट र गाडीका पाटपुर्जा तस्करी धन्दामा समेत संलग्न व्यक्ति हुन् । गृह मन्त्रालयको निर्देशनपछि सो क्रसरमा तीन पटक अनुगमन भए पनि कारबाही हुन सकेको छैन । राति राति काम हुने भएकाले अनुगमनमा आउँदा प्रशासनलाई झुक्याउने गरिएको छ ।
गाउँपालिकाले त्यहाँ क्रसर सञ्चालनका लागि न्यूनतम ४ करोड ८१ लाख ९५ हजारमा बोलपत्र आह्वान गरेको थियो । तर गुन्डागर्दीका कारण बाहिरी व्यक्तिलाई टेण्डर नै हाल्न नदिई आफैंले हात पार्ने गरेका छन् । २ वर्षदेखि त्यहाँ प्रतिस्पर्धा हुन सकेको छैन । जसबाट गाउँपालिकाले करोडौं राजश्व गुमाएको छ । अहिलेमात्र उनीहरुले २ करोडको ढुंगा र करिब २५ लाखको बालुवा थुपारेर राखेका छन् ।
एक वर्षमा त्यहाँबाट उनीहरुले १० करोड रुपैयाँभन्दा धेरैको ढुंगा र बालुवा उत्खनन् गर्दै आएका छन् । सोही क्रसरका कारण जिल्लामा गुन्डागर्दीका घटनासमेत हुने गरेका छन् । गत २९ कात्तिकमा राप्तीसोनागरी गाउँपालिका ९ ढकेरीका तिलकजंग शाहलाई सोही समूहले खुकुरी हानेको थियो । उनी राप्तीसोनारी गाउँपालिकाका करारका कर्मचारी हुन् । गाउँपालिकाले उनलाई राजश्व कटानमा खटाउने गरेको थियो ।
अवैध उत्खनन् र ओसारपसारमा अवरोध गरेको भन्दै राप्ती बालुवा प्रशोधन उद्योगका सञ्चालक बलबहादुर खत्रीका भाई भूपेन्द्र खत्री लगायतको टोलीले खुकुरीले हानी गम्भीर घाइते भएको थियो । यो घटनाको अनुसन्धानमा समेत बाँकेका एसपी ओमबहादुर रानाले चलखेल गरेको स्रोत बताउँछ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पनि यसमा चासो नदिएकाले मिलेमतोको आशंका गरिएको छ । (साभार : दृष्टिन्यूज डटकम)
सत्यपाटी ।