बाँके । गत कात्तिक १ गते कैलालीमा केराउ तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विक र जवान रामबहादुर साउदको हत्या भयो । हत्यामा संलग्नको आरोपमा ८ जना र केराउ तस्करीमा सघाएको आरोपमा अर्का एक जना पक्राउ परेका छन् । २५ लाख रुपैयाँ बढीको केराउ तस्करी गर्न प्रहरीको हत्या भएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।
कैलालीमा प्रहरीकै हत्या गरेका तस्करहरुको सञ्जाल बाँकेमा आएर केराउ तस्करीमा सक्रिय रहेको अनुमान छ । तर, प्रहरी प्रशासन भने यस विषयमा मौन देखिएको छ । केराउ भारत तस्करी गर्ने प्रयोजनको लागि नेपालगन्जको बसपार्क क्षेत्रमा भण्डारण गरिएको स्थानीयहरु बताउँछन् । खुला सीमाको फाइदा उठाउँदै प्रहरीकै मिलेमतोमा केराउ तस्करी भइरहेको स्थानीयहरुको दावी छ ।
छिमेकी भारतमा कुनै पनि वस्तुको माग र मूल्य बढी छ भन्ने थाहा पाउने बित्तिकै नेपालका व्यवसायी समुद्रपारबाट त्यही वस्तुको पैठारीमा सक्रिय हुन्छन् । यही क्रममा क्यानडा र युक्रेनबाट हरियो र पहेँलो केराउको आयात अस्वभाविकरुपमा भइरहेको छ । नेपालगन्जमा हरियो तथा पहेँलो मटरको मूल्य प्रतिकिलो ग्राम ७५ देखि ८० रुपैयाँसम्म छ भने भारतीय बजारमा १२० रुपैयाँसम्म पर्छ ।
खाद्य पदार्थमा परेका कारण केराउको भन्सार महसुल पनि सस्तो छ । भन्सार विभागका अनुसार भारतबाट पैठारी गरिएको मटर हो भने कृषि सेवा शुल्क ८ प्रतिशत तिरे पुग्छ । तेस्रो मुलुकबाट आयातितमा भने भन्सार महसुल १० प्रतिशत बुझाउनुपर्छ । केराउको पैठारीमा मूअकर तिर्नुपर्दैन । तराई क्षेत्रका सबैजसो सीमा नाकाबाट भारततर्फ केराउको अवैध निकासी हुने गरेको छ ।
तस्करहरुले रातारात ‘इधरका केराउ उधर’ पुर्याउने गरेका छन् । नेपालबाट अवैध निकासी भई भारत पुग्ने मुख्य वस्तु कुनै बेला सुपारी थियो । सुपारीको पैठारीमा सरकारले महँगो शुल्क लिन थालेपछि भारतमा भन्दा नेपालमै महँगो पर्न थाल्यो । फलतः सुपारीको ‘इधरउधर धन्धा’ अहिले शून्यप्रायः छ । स्रोतका अनुसार सुपारीको आयात हाल स्वदेशका गुट्खा उद्योगमा आपूर्ति गर्ने उद्देश्यले बढी भएको छ ।
सुपारीपछि सुकुमेलको ‘वारपार धन्धा’ निकै फस्टायो । सुकुमेल भारतमै सस्तिएपछि यसको कानुनी पैठारी गरेर गैरकानुनी निकासी गर्ने क्रम पनि सेलायो । सुकुमेलपछि मरिच पैठारी गरेर भारत पठाउन थालियो । तर अन्तर्राष्ट्रिय बजारमा मरिचको मूल्य खस्किएका कारण यसको कारोबार हौसिन सकेको छैन । सुपारी, सुकुमेल र मरिचको कारोबारमा सुस्तता देखिए पनि हरियो केराउको कारोबार भने मौलाएको पाइएको छ ।
आयातकर्ता ठूला व्यापारीसित स–सानो परिमाणमा खरिद गरेर सीमा क्षेत्रका व्यवसायीले तस्करीको लाइन चलाउने गरेका छन् । बाँकेको नरैनापुर क्षेत्र तस्करीका मुख्य नाका मानिन्छन् । पछिल्ला बर्ष नेपालमा केराउको आयात ह्वात्तै बढेको छ । खासगरी भारत सरकारले भारतमा केराउ आयातमा कोटा निर्धारण गरेपछि नेपालमा केराउको आयात वृद्धि भएको तथ्यांकले देखाउँछ ।
नेपालमा तेस्रो मुलुकबाट आयात हुने केराउ नेपालमै उपभोगभन्दा भारत तस्करीका लागि आउने गरेको हो । नेपाल–भारत खुला सीमा रहेकाले तस्करीका लागि खासै ठूलो समस्या हुँदैन । तस्करहरु नाकाका भित्री गाउँमा केराउ भण्डारण गरी भारततर्फ तस्करी गर्दै आएका छन् । भारतमा माग र मूल्य बढी भएकाले पनि तेस्रो मुलुकबाट नेपाल भित्र्याएर भारततर्फ तस्करी हुने गरेको छ ।
बाँके लगायत सीमावर्ती क्षेत्रबाट पटकपटक प्रहरीले तस्करीको केराउ समात्दै आएको छ । यद्यपि, घरायसी प्रयोजनमा पनि केराउ प्रयोग हुने भएकाले प्रहरीलाई केराउ समात्न र त्यस विरुद्ध कारवाही गर्न भने चुनौतिका रुपमा रहेको छ । तेस्रो मुलकबाट भारतमा हुने बिक्री मूल्यभन्दा सस्तो दरमा भनौं अनुदानकै रुपमा नेपाल केराउ आउने गरेको छ । भारत सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न विदेशबाट केराउ आयातमा कोटा निर्धारण गर्दै आएको हो ।
आन्तरिक उत्पादन र कोटाबाट आयात हुने केराउले माग धान्न नसकेपछि नेपाल तथा भारतका व्यापारीले नै तेस्रो मुलुकबाट केराउ आयात गरी भारततर्फ तस्करी गर्ने गरेका हुन् । केराउबाहेक मरिच र सुपारी पनि तेस्रो मुलुकबाट आयात गरी भारत तर्फ तस्करी हुने गरेको छ । कानुनतः तेस्रो मुलुकबाट आयातित सामाग्री पुनः अर्को देश निकासी गर्न पाइँदैन । त्यसैले पनि भारतमा अभाव हुने वस्तु नेपाल ल्याएर तस्करीबाट भारत पुग्ने गरेको हो भन्सारका अधिकारीहरु बताउँछन् ।
समुद्रपारबाट नेपाल आएर अनधिकृतरूपमा भारत जान थालेपछि केराउको आयातमा अचाक्ली वृद्धि भएको छ । गत आव २०७६/०७७ को चार महिना चार महिना लकडाउन भयो । तर, पनि २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा ९९ प्रतिशतले केराउ आयात वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । भन्सार विभागको तथ्यांक अनुसार, पछिल्लो चार बर्ष चार महिनामा ४ लाख ४९ हजार ५०७ मेट्रिकटन केराउ आयात भएको छ ।
जुन नेपालको जनसंख्या ३ करोडलाई आधार मानी हिसाब गर्ने हो भने प्रतिव्यक्ति १५ केजी पर्न आउँछ । उक्त केराउको मूल्य भन्सारले १ हजार ९६७ करोड निर्धारण गरी २५३ करोड राजश्वसमेत असुल गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार, आव २०७३/०७४ को तुलनामा आव २०७६/०७७ मा केराउ आयात ३८० प्रतिशतले बढेको छ । आव २०७५/०७६ मा भारतले केराउ आयातमा कोटामार्फत आयात परिणाम नियन्त्रण गरेपछि नेपालमा केराउ आयात १७३ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
नेपालमा वस्तु आयात गर्दा त्यसको भुक्तानी डलरमा गर्नुपर्दछ । तर, भारत निर्यात हुँदा अवैधानिक बाटोबाट भारतीय मुद्रामात्रै आयात हुन्छ । यो राष्ट्रका लागि अर्को नोक्सानी हो । अझ नेपालका लागि अनुदानमा आउने मालसामान अर्को मुलुकमा सोही अवस्थामा निर्यात गर्नु पनि उचित नभएको सम्बद्ध अधिकारीहरु बताउँछन् । नेपालबाट अवैध निकासी भई भारत पुग्ने मुख्य वस्तु कुनै बेला सुपारी थियो ।
सुपारीको पैठारीमा सरकारले महँगो शुल्क लिन थालेपछि भारतमा भन्दा नेपालमै महँगो पर्न थाल्यो । र, निर्यात नियन्त्रणमा आयो । सुपारीको आयात हाल स्वदेशका गुट्खा उद्योगमा आपूर्ति गर्ने उद्देश्यले बढी भएको छ । सुपारीपछि सुकमेलको भारत तस्करी निकै फस्टायो । सुकुमेल भारतमै सस्तिएपछि यसको कानुनी पैठारी गरेर गैरकानुनी निकासी गर्ने क्रम पनि सेलाएको छ ।
सुकुमेलपछि मरिच पैठारी गरेर भारत पठाउन थालियो । तर अन्तर्राष्ट्रिय बजारमा मरिचको मूल्य खस्किएका कारण यसको कारोबार हौसिन सकेको छैन । सुपारी, सुकुमेल र मरिचको कारोबारमा सुस्तता देखिए पनि हरियो केराउको कारोबार भने मौलाएको पाइएको छ । तराई क्षेत्रका सबैजसो सीमा नाकाबाट भारततर्फ केराउको अवैध निकासी हुने गरेको छ । नाफा कम भएको वस्तु भएकाले यसको संस्थागत तस्करी नभएको स्रोतको दाबी छ ।
तर, अधिकारीहरुको यो भनाई भने विश्वसनीय मान्न सकिन्न । यसै बर्षको भदौंमा नवलपरासीमा ट्रकमै भारत तस्करीका लादिएको २९ लाख मूल्य बराबरको केराउ समातिएको थियो । बाँकेमा पनि बेलाबेला केराउ समातिन्छ । नरैनापुर क्षेत्रबाट केराउ तस्करी हुँदै आएको छ । ठूलो परिणाममा तस्करीमा समस्या भएपछि सीमावर्ती क्षेत्रमा भण्डार गरी सानो परिणाममा क्यारिङ्गमार्फत केराउ भारत तस्करी हुने गरेको हो ।
नेपाली व्यापारीहरूले क्यानडाबाट आयात गर्ने केराउ स्वदेशमा थोरै मात्र खपत हुन्छ । भारतमा नेपाल बाहेकका मुलुकबाट केराउ, सुपारी र मरिच आयात गर्न पाइन्न । तर, कानुनलाई छलेर भारतीय व्यापारीले नेपाली व्यापारीसँगको मिलेमतोमा विदेशबाट नेपालमा आयात गर्छन् र त्यसलाई नेपाली वस्तु भन्दै भारत भित्र्याउँछन् । यसरी तेस्रो देशबाट नेपालमा ल्याएर केराऊ भारत लैजाँदा रोकावट हुँदैन । तर, नेपालबाट भारत लैजानु भनेको गैरकानुनी हुन्छ ।
तर, नेपाली व्यापारी र भारतीय व्यापारीहरूको साठगाँठमा बाँकेको नरैनपुर क्षेत्रबाट ठूलो मात्रामा केराउ तस्करी भइरहेको छ । लकडाउनका बेला झण्डै ८० लाखदेखि एक करोड रुपैयाँसम्मको बराबरको केराउ तस्करी भएर भारत गएको अनुमान छ । तर, प्रहरीले केराउ तस्करलाई अहिलेसम्म समात्न नसकेको नरैनापुरबासीहरुको भनाई छ । नरैनापुर क्षेत्रबाट रात्रीका समयमा केराउ तस्करी गरेर भारत पठाइने गरेको स्थानीयहरु बताउँछन् ।
तेस्रो मुलुकबाट नेपाल भित्र्याइएको केराउ तस्करहरूले सीमावर्ती नाकासम्म पुर्याउने र त्यहाँबाट भरियाले सुरक्षाकर्मीको आँखा छलेर भारत पुर्याउँछन् । व्यापारीले भारत तस्करी गर्ने केराउ सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने गरेको पनि नरैनापुरबासीको दावी छ । ‘उनीहरुले सीमा क्षेत्रमा भण्डारण गरेर राख्छन् । त्यहीँबाट प्रहरीको आँखा छलेर रातारात तस्करी हुन्छ,’ स्थानीयहरु बताउँछन् ।
भारतसँग बाँकेको ६५ किलोमिटर खुल्ला सीमा जोडिएको छ । पछिल्लो समय यहाँ सशस्त्र प्रहरी बलका थुप्रै सीमा जाँच चौकी (बिओपी) स्थापना गरिएको छ । तर, यसले पनि तस्करी नियन्त्रण हुन सकेको छैन । सीमा क्षेत्रमै भण्डारण गरेर राख्ने हुँदा केराउ तस्करी नियन्त्रण गर्न कठिन छ । भारत निकासीमा प्रतिबन्ध लागेका वस्तु सीमा क्षेत्रदेखि २ किलोमिटरसम्म भण्डारण गर्न नपाउने नियम बनाउनुपर्ने स्थानीयहरुको सुझाव छ ।
सत्यपाटी ।