सूचनाको शक्ति - The Power Of Information

        

जलवायु

शीतलहर र हुस्सुले अत्यधिक चिसो, जनजीवनसँगै हवाई उडान पनि प्रभावित

बाँके । दुई दिनदेखि सुरु भएको शीतलहर र बाक्लो हुस्सुले पश्चिम तराईका बाँके र बर्दियामा चिसो अत्यधिक बढेको छ । चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । चिसोले गर्दा सडकमा सवारी साधन र सर्वसाधारणको आवागमन घट्दै गएको छ । दुवै जिल्लाका प्रमुख बजारमा समेत चहलपहल र व्यापार व्यवसाय घटेको व्यवसायीले बताएका छन् ।

बिहीबारबाट शीतलहर आई चिसो बढेपछि बजारमा सर्वसाधारणको आवागमन घटेको र व्यापार व्यवसायसमेत कम भएको नेपालगन्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले चिसोले न्याना लुगा र हिटर, गिजरका पसलबाहेक अन्य बजार सुनसान बनाएको बताए । शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुर प्रभावित भएका छन् ।

नेपालगन्जका सरकारी तथा निजी अस्पतालमा चिसोका बिरामी आउने क्रम पनि बढेको ती अस्पतालले जनाएका छन् । नेपालगञ्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा गत दुई तीन दिनयता निमोनिया, कोल्ड डायरिया र रुघाखोकी लागेका बालबालिका र वृद्धवृद्धा आउने क्रम बढेको सो अस्पतालका निर्देशक डा. एम किदवाईले बताए । उनले कोभिड–१९ सँंगै चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गरे ।

भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै बढ्दै गएको अस्पतालका चिकित्सक डा. सङ्केतकुमार रिसालले बताए । उनले बालबालिका र वृद्धवृद्धालाई बढी हेरचाह गर्नुपर्नेमा जोड दिँदै बिरामीलाई चिसोबाट जोगाउन न्यानो लुगा र आगोलगायत हिटरमा आफ्ना बालबालिकालाई राख्न आग्रह गरे । शीतलहर, कुहिरो र भिजिबिलिटी कम भएकाले दुई दिनयता बिहान र बेलुकी नेपालगन्जबाट हुने अधिकांश हवाई उडान प्रभावित भएका छन् ।

बिहान पहाडी जिल्लाका सिमिकोट, बाजुरा, मुगुको रारा, डोल्पा र जुम्लामा हुने हवाई उडानमा ढिलाइ हुने गरेको नागरिक उड्डयन कार्यालय नेपालगन्जले जनाएको छ । यसैगरी बिहान र बेलुका काठमाडौंका लागि हुने हवाई उडान पनि प्रभावित भइरहेको सो कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताए ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १४:११