सूचनाको शक्ति - The Power Of Information

        

९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर आजदेखि खुला

काठमाडौं । भक्तजनका लागि नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेपछि आजबाट मन्दिर खुलेको हो ।

मंगलबार पशुपति मूल मन्दिर परिसरका वासुकीनाथ, जलनारायण, लालगणेश, सूर्यनारायण, कीर्तिमुख भैरव, उन्मत्त भैरव, अष्टमातृका, नवग्रह, हनुमान, सत्यनारायणको समेत पूजाआराधना गरिएको थियो । पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुलेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।

आजदेखि देखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।

मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मन्दिर खुला गरिने कोषाध्यक्ष डा. थापाले बताए ।

लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ ।

चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटकसमेत आएका छैनन् । मन्दिर नखुल्दा फूलप्रसाद बेच्न राखिएका पसल पनि नौ महिनादेखि बन्द रहँदा कोषलाई करीब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताएका छन् ।

प्रकाशित मिति : १ पुष २०७७, बुधबार ०९:१०