सूचनाको शक्ति - The Power Of Information

        

नेकपामा बबण्डर

संवैधानिक परिषद् अध्यादेश प्रकरणः तुरुन्त खारेज गर्न दाहाललगायत नेताको माग

अध्यादेश ल्याउनु प्रधानमन्त्रीको गम्भीर गल्ती

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्या भण्डारीले संवैधानिक परिषद सम्बन्धि अध्यादेश एकाएक जारी गरिदिएपछि सत्तारुढ नेकपामा बबण्डर मच्चिएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाललगायतका नेताले राष्ट्रपतिबाट जारी गरिएको अध्यादेश तत्काल खारेज गर्न माग गर्नुभएको छ ।

गणपुरक र सर्वसम्मतिमा निर्णय लिनुपर्ने प्रबन्ध हटाएर बहुमतकै आधारमा निर्णय गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि नेकपामा दाहाल–नेपाल पक्ष आक्रोशित भएको हो ।

दाहालले भने स्थायी कमिटीको बैठक चलिरहेका बेला पार्टीमा परामर्श नगरी अध्यादेश ल्याउनु सरकारको असंवैधानिक हर्कत भएको टिप्पणी गर्नुभएको छ ।

दाहाललाई उधृत गर्दै उहाँका प्रेस संयोजक विष्णु सापकोटाले भन्नुभयो ‘प्रधानमन्त्रीबाट असंवैधानिक हर्कत भयो । पार्टीमा समेत छलफल नगरी ल्याउनु लोकतन्त्रकै उपहास हो । यो अध्यादेश तुरुन्तै खारेज गर्नुपर्छ ।’

पार्टीहरूले पनि संसद अधिवशेन बोलाउन माग गरिहरहेको र संसद अधिवशेन नजिकै आइरहेको बेलामा अध्यादेश ल्याइनु बदनियतपूर्ण भएकाले यसलाई तुरुन्तै खारेज गर्नुपर्ने माग अध्यक्ष दाहालको छ ।

यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि अध्यादेश ल्याएर प्रधानमन्त्रीले गम्भीर गल्ती गरेको बताउनुभयो ।

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार १६:३८