सूचनाको शक्ति - The Power Of Information

        

कविता

म अस्ति मारिएको शिक्षक राजेन्द्र श्रेष्ठ

हो हजुर हो
म अस्ति मारिएको शिक्षक,
राजेन्द्र श्रेष्ठ के । चिन्नु भएन ?
सानो बुकुरे ओत लाग्ने छाप्रो
बसिरहेको थिएँ त्यही छानो मुनी
परिवारका साथ,
सुख त कहिले नै थियो र
तर पनि चलिरहेको थियो
दुःख कष्ट गर्दै जिन्दगी
दिनभरि घाँटी सुकाउँथे स्कुलमा
पढाउँथे विद्यार्थीहरू
चलेको थियो मानो
चलिरहेकै थियो एउटा दुखीको घर
एक दिन,
अचानक आए एक हुल जमात
म बस्ने छाप्रोमा ।
मान्छे जस्तै देखिन्थे उनीहरू
मान्छे जस्तै बोल्थे उनीहरू
हामी मान्छे जस्तै थिए
देख्दा उनीहरू ।
हात हतियार भिरेको जमातभित्रै
एउटाले भन्यो
ए साला हिँड हामीसँग
अर्कोले भन्यो सुन्दैनस् ??
म अवाक भएँ
न हराम बिराम केही गरेको छु
अचानक म माथि के आइलाग्यो आज यस्तो ।
मन भरी कुरा खेलिरहेका थिए
चोर समाते झैँ समाते मलाई
दुवै हात कंसे पछाडि मेरा
एउटाले भन्यो बोलिस् भने खबरदार
अर्कोले घुचेट्दै भन्यो हिँड हामीसँग
बगरेले खसी घचेटे झैँ घचेट्दै लगियो मलाई
अलि पर एकान्त जङ्गलमा
बाँधियो मलाई रुखमा
एउटाले खुकुरी निकाल्यो
र रेट्न थाल्यो मेरो घाँटी
बाँधिएका थिए मेरा हात खुट्टा
प्रतिकार गर्न के सक्थेँ र म बबुरो
बगरेले रेट्दै गरेको खसी बोकाजस्तै
गर्दै थिएँ भ्या भ्या
न हराम न कुनै बिराम
सेरियो मेरो घाँटी
अर्काले हान्यो डुम्म गोली
मेरो छातीमा
मेरो टाउकोमा
र लियो मेरो प्राण
एकै छिनमै म मरेछु क्यारे
अहँ त्यसपछि थाहा भएन केही
हो म मरिसकेको छु अहिले
तर मेरो आत्मा भड्किरहेको छ
लागेको थियो मलाई
कोही त बोल्छन् होला
आवाज उठाउँछन् होला
मरेको म को न्यायका लागि
मरेका मजस्ता धेरै म को न्यायका लागि
तर देखेँ तैं चुप मै चुप
म र मजस्ता निर्दाको लागि
किन बोल्थ्यो र समाज
किन खोल्थे र मुख मानिसहरू
म अहिले बल्ल महसुस गर्दैछु
म मर्नुभन्दा अघि नै
मरिसकेका रहेछन् सबका सब
मैले देखेका मान्छेहरू
मान्छेहरू रहेनछन्
तिनीहरू त चिहानका भूत प्रेत रहेछन्
अहिले बल्ल थाहा पाएँ
म त ढिलो पो मारिएको रहेछु
मेरो बस्ती मुर्दाहरूको बस्ती पो रहेछ
भूत प्रेतहरूको बस्ती पो रहेछ
त्यसैले आज भन्न मन लाग्यो
यदि जिउँदा कोही छौ भने पनि
कुनै आमाले नजन्माऊ सन्तानहरू
मुर्दाहरूको बस्तीमा
भूत र प्रेतहरूको बस्तीमा
राक्षसहरूको बस्तीमा
देश हराएको बस्तीमा
मानवता हराएको बस्तीमा
विवेक र न्याय हराएको बस्तीमा
मजस्तै मारिनका लागि ।
म अहिले बल्ल महसुस गर्दैछु
म मर्नुभन्दा अघि नै
मरिसकेका रहेछन् सबका सब
मैले देखेका मान्छेहरू
मान्छेहरू रहेनछन
तिनीहरू त चिहानका भूत प्रेत रहेछन्
अहिले बल्ल थाहा पाएँ
म त ढिलो पो मारिएको रहेछु ।

– मनोवादमा आधारित कविता
– रामप्रसाद खनाल, २७ मङ्सिर २०७७

प्रकाशित मिति : ३० मंसिर २०७७, मंगलवार ०७:३५