सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै धेरै चिसो

काठमाडौं  ।  काठमाडौं उपत्यकामा सोमबार यस वर्षकै बढी चिसो महसुुस गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ ।

यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ ।

“डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भन्नुभयो ।

यस वर्ष काठमाडौंको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ ।

दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ ।

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै सोमबार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार १७:१७