सूचनाको शक्ति - The Power Of Information

        

सरकारविरुद्ध क्रुद्ध कांग्रेस

सरकारविरुद्ध ७७ वटै जिल्लामा नेपाली कांग्रेसको प्रदर्शन

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज (सोमबार)देखि सरकारविरुद्ध सडक संघर्षमा जाँदैछ । सरकार सर्वसत्तावादको अभ्यासमा लागेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत साता तनहुँमा पुल उद्घाटन गर्न जाँदा दुर्व्यवहार भएपछि कांग्रेस सरकारविरुद्ध क्रुद्ध बनेको छ ।

देशमा भ्रष्टाचार बढेको, प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरी नागरिकको स्वास्थ्यमाथि खेलबाड गरेकोले बाध्य भएर प्रदर्शन गर्नुपरेको कांग्रेसको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक अपिल जारी गर्दै सरकारविरुद्ध सडक संघर्षमा उत्रन आम नागरिकलाई आग्रह गरेका छन् ।

देउवाले जारी गरेको अपिलमा कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ । सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको आरोप कांग्रेसको छ । सभापति देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन् ।

‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग¥यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले अपिलमा भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो ।’

त्यस्तै कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि उसले सरकारविरुद्ध लगाएको छ । आज हुने विरोधका कार्यक्रममा ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाले हेटौँडामा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, महामन्त्री डा. शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा. प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यसैगरी, पूर्वसहमहामन्त्री डा.रामशरण महतले चितवन, युवा नेता गगन थापाले कैलालीमा नेता अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कांगे्रसले जनाएको छ । नेता कृष्णप्रसाद सिटौला भने कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका छन् । सरकारविरुद्ध हुने आजको प्रदर्शनमा दश लाख नागरिक सहभागी हुने अनुमान कांग्रेसले गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७७, सोमबार ०८:३४