न सारी पाइन भन्ने कचकच,
न दारी बिझायो भन्ने खसखस,
न घर ढिलो आइस् भनेर झगडा,
न अर्की जिस्काइस् भनेर लफडा,
तन टाढा भए नि मन नजिक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
अफिस गयो, हस्ताक्षर दन्कायो,
फोन गर्याे, पोइ बाहिर छ भन्ने पत्ता लगायो,
उनको कोठामा पुग्यो, मासु चिउरा खायो,
टिभीको आवाज बढायो, तबला बजायो,
मान्छेलाई मंसिर, कुकुरलाई कात्तिक,
स्वास्नी त कमरेड अर्कैकी ठीक !!
शेयर किन्छिन्, मलाई नै फाइदा !
सर्वस्व दिन्छिन्, मलाई नै फाइदा !
स्वास्नी अर्कैकी, खर्च अर्कैको,
मैसँग आउँछिन्, मलाई नै फाइदा !
उसको पोइको खर्चमा विश्व घुमियो,
अमेरिका पुगियो, केएफसी खाइयो,
रसिया पुगियो, भोड्का चिरप्याइयो,
दुबई पुगियो, उँट चढियो,
युरोप घुमियो, काखैमा लडियो !
भुक्का लागे भन्न पाइयो, बेबी ! पैसा झिक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
हदै भए, उसको पोइले छोडिदिन्छ,
डिभोर्स गर्छ, आधा सम्पत्ति दिन्छ !
छोडेकी स्वास्नी, मेरी छम्मा !
आधा सम्पत्तिसहित छोड्यो, त्यसकै बुढो निकम्मा !
मेरै हातमा चाबी, मेरै हातमा ताला,
अघोषित स्वास्नी, विना बरमाला !
निहुँ खोज्नेले भेट्छन्, कार्यकर्ताको किक !
स्वास्नी त कमरेड ! अर्कैकी ठीक !!
durbartimes.com
चिरन्जीवी ढकाल ।