सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी जनताले सोमबारदेखि कोरोना विरुद्धको खोप पाउने

काठमाडौं । अमेरिकामा सोमबार (भोलि) देखि कोरोना भाइरसविरुद्धको खोप लगाउन शुरु गरिने भएको छ ।

फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका व्यक्तिहरुलाई खोप लगाउन थाल्ने भएको हो ।

खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्‍याइने जनाइएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित मानिएको छ ।

अमेरिकाको खाद्य तथा औषधि विभागले कोभिड–१९ विरुद्धको खोपलाई स्वीकृति दिएसँगै अमेरिकी नागरिकलाई खोप दिन सबै प्रक्रिया पूरा गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा सोमबार खोप लगाइने छ भने मंगलबार अरु ४२५ स्थानमा दिइनेछ ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज खोप तयार पार्ने योजना बनाएको छ । कोभिडसँग प्रतिरक्षाका लागि यो खोप दुई डोज लगाउनुपर्ने हुन्छ । पहिलो खोप लगाएको तेस्रो हप्ता अर्थात् २१ दिनका दिन दोस्रो खोप लगाउनुपर्ने हुन्छ ।

पहिलो चरणको खोपले ३३ करोड जनसंख्या भएको अमेरिकाका करिब ३० लाख जनालाई पुग्ने भएकाले पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्नेहरुले मात्र पाउने छन् ।

सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकलाई खोप दिइने तयारी गरिएको छ ।

फाइजरको खोपलाई अमेरिकासहित, बेलायत, क्यानडा, साउदी अरेबिया, बहराइनले अनुमति दिइसकेका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतवार ०९:२४