सूचनाको शक्ति - The Power Of Information

        

भुक्तानीे माग्दै सर्लाहीका उखु किसान काठमाडौंमा, माईतिघरमा प्रदर्शन गर्ने

काठमाडौं । लामो समयदेखि उखुको भुक्तानी नपाएको भन्दै आन्दोलन गर्न उखु किसानहरु काठमाडौं आएका छन् ।

चिनी मिलहरुले लामो समयसम्म भूक्तानी नदिएपछि मर्कामा परेका किसानहरु सिंहदरवारलाई झक्झक्याउन काठमाडौंमा आईपुगेका हुन् ।

उखु किसानहरुले लिनुपर्ने ९० करोडभन्दा बढी रकम उठाउन किसानहरुले आन्दोलन घोषणा गरेका हुन् ।

देशभरबाट एक हजार बढी उखु किसान काठमाडौंमा भेला भएर पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने तयारी छ ।

उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले आजबाट वार कि पारको आन्दोलन सुरु भएको बताउनुभयो ।

किसानहरुले पाउनुपर्ने रकम पाएपछि मात्रै घर फर्किने उल्लेख गर्दे उहाँले सहमतिका नाममा कागज गरेर फर्किने अवस्था नभएको बताउनुभयो ।

यसअघि २३ कात्तिकमा पनि काठमाडौं आएका उनीहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको थियो । नगदे बालीका रूपमा परिचित उखु खेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् ।

किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको किसानहरुको भनाई छ ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतवार ०९:२२