सूचनाको शक्ति - The Power Of Information

        

टिमुरले बजार नपाउँदा कृषक निराश

सल्यान । जिल्लामा उत्पादित टिमुरले बजार नपाएपछि व्यावसायिक खेती गरिरहेका कृषक निराश हुन थालेका छन् । टिमुरले मूल्य नपाएपछि विगतका वर्षमा कात्तिक–मङ्सिरमै टिमुर बिक्री गरिसक्ने जिल्लामा यस वर्ष उत्पादित टिमुर किसानका घरमै थन्किएको छ । टिमुर खरिदका लागि व्यापारी घरघरमै आउने गरेको भए पनि यो वर्ष अहिलेसम्म व्यापारी नआएको किसानको भनाइ छ ।

आफूहरुले उत्पादन गरेको टिमुरले बजार नपाएपछि टिपेर घरमै राखेको छत्रेश्वरी गाउँपालिका–५ महानेटाका कृषक मोहन केसीले बताए । ‘पोहर साल यतिबेला हामीले ७०० रुपैयाँ प्रतिकिलोसम्ममा टिमुर बिक्री गरेका थियौँ, अहिले टिपेर घरमै राखेका छौं बिक्री भएको छैन,’ उनले भने । गएको वर्षमा आफूले तीन लाखभन्दा धेरैको टिमुर बिक्री गरेको उनको भनाइ छ ।

गत वर्ष टिमुरले राम्रो मूल्य पाएको भए पनि यो वर्षमा ३०० रुपैयाँ प्रतिकिलो बिक्री हुन गाह्रो भएको टिमुर उत्पादक किसान लोकबहादुर डाँगीले बताए । ‘मैले गहुँ, मकै रोप्ने बारीमा टिमुरखेती गरेको छु, टिमुरका ५०० बोटले उत्पादन दिइरहेका छन्, टिमुर बिक्रीबाटै गुजारा चलाउँदै आएको थिएँ, यस वर्ष टिमुर बिक्री नहुँदा समस्या भएको छ,’ डाँगीले भने ।

विगतका वर्षमा सल्यान जिल्लाको टिमुर फ्रान्समा समेत निर्यात भएको भए पनि यो वर्ष बिक्री नभएको बनगाड कुपिण्डे नगरपालिका–९ का कृषक चक्रबहादुर डाँगीले बताए । जिल्लाको लेखपोखरा, दमाचौरमा उत्पादित टिमुर बिक्री भएको छैन भने निगालचुँला, कुपिण्डे दहलगायतका क्षेत्रमा उत्पादित टिमुरले पनि राम्रो बजार मुख्य पाउन सकेको छैन । टिमुर खरिदका लागि व्यापारी नआएपछि टिमुर घरमा नै थन्किएको किसानको गुनासो छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०९:३३