सूचनाको शक्ति - The Power Of Information

        

बझाङका १६० जनालाई व्यावसायीक तालिम

बझाङ । बझाङ जिल्लाका १६० बेरोजगार युवकयुवतीलाई एक संस्थाले व्यावसायीक तालीम दिने भएको छ । जिल्लाका जयपृथ्वी र बुंगल नगरपालिकासहित दुर्गाथली, केदारस्युँ र चिरवित्थड गाँउपालिकाका २०/२० जना बेरोजगार युवकयुवतीलाई तालिम दिइने भएको हो ।

न्युनतम सुविधाविहिन बालबालिकाका लागि शैक्षिक कार्यक्रम युसेप नेपालले युवाहरुलाई स्वरोजगार बनाउन तालिम दिन लागेको परियोजनाका कर्मचारी राजेन्द्र विष्टले बताए । युरोपियन युनियनको आर्थिक सहयोगमा व्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा तालिम हुन लागेको हो । बझाङ र बदियामा लागु भएको यो परियोजना पहिलो चरणमा १५ महिनाको हुनेछ ।

साथै परियोजनाले तीन महिने कृषि सम्बन्धी उद्यम विकास तालिम पनि दिने भएको छ । पाँच वटै पालिकामा कतै बेमौसमी तरकारी खेती सम्वन्धी त कतै च्याउखेती र कतै पशुपालन सम्वन्धी उद्यमशीलता तालिम दिएर स्वरोजगार हुन सहयोग मिल्ने उद्देश्य राखिएको छ । शुक्रवार युसेप संस्थाले जिल्लामा रोजगारदाता परामर्श बैठक राखेर सरोकारवालाहरुबाट सुझाव माग्दै परियोजनाका बारेमा जानकारीसमेत दिएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०९:०१