सूचनाको शक्ति - The Power Of Information

        

शिक्षकलाई कोरोना देखिएपछि विद्यालय बन्द

बझाङ । बझाङ सदरमुकाममा रहेको पुरानो सत्यवादी माध्यामिक विद्यालयका शिक्षकलाई कोरोना देखिएपछि बिहीबारबाट विद्यालय बन्द गरिएको छ । चैत्रदेखि बन्द भएको विद्यालय मंसिर ३ गतेबाट सुचारु गरिएको थियो ।

सामान्य विसञ्चो भएका विद्यालयका पाँच जना शिक्षकमा कोरोना पुष्टी भएपछि पुस पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको शिक्षक राजेन्द्रप्रसाद जोशीले बताए । उनले भने, केहिदिन विद्यालय सञ्चालन भएर पठाइ सुचारु गरिएको थियो, तर शिक्षकहरुमा कोरोना देखिएपछि केहिदिनका लागि फेरी विद्यालय बन्द गरेका छौं ।’

१६ सयभन्दा बढी विद्यार्थी अध्यनरत विद्यालयमा ३५ जना शिक्षक कार्यरत छन् । मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहले काठमाडौंमा रहेको दरवार हाइस्कुललाई १९६३ मा शाखाको रुपमा सत्यवादी पाठशाला स्थापना गरेका थिए । अहिले सत्यवादीमा कृषि प्राविधिक शिक्षा, विज्ञान, वाणिज्य लगायतका विषय पढाई हुने गरेको छ ।

जिल्लामा अन्य विद्यालयहरु भने मंसिर पहिलो साताबाटै सुचारु गरेका छन् । जिल्लामा अहिलेसम्म ८९० जना संक्रमितमध्ये अझै ५६ जना सक्रिय संक्रमितहरु रहेको र उनीहरुको विभिन्न आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । बझाङमा हालसम्म कोरोना संक्रमणबाट तीन जनाको मृत्युसमेत भइसकेको छ ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०८:४७