सूचनाको शक्ति - The Power Of Information

        

उखुको न्यूनतम् समर्थन मूल्य प्रतिक्वीन्टल ८ रुपैयाँले बढ्यो

काठमाडौं । सरकारले उखुको प्रतिक्वीन्टल न्यूनतम् समर्थन मूल्य ५ सय ४४ रुपैयाँ ३३ पैसा तोकेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य तोकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उखुको नयाँ समर्थन मूल्य यसअघिको भन्दा ८ रुपैयाँ प्रतिक्वीन्टलले बढी भएको मन्त्रालयले जनाएको छ ।

लागत, ढुवानी र मुनाफा जाडेर कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको सिफारिस बुधबार मन्त्रिपरिषदमा पेश गरिएको थियो । नयाँ मूल्यमा लागत ३८६ रुपैयाँ १६ पैसा, ढुवानी खर्च तथा मुनाफा ९२ रुपैयाँ ८९ पैसा र सरकारले दिने प्रतिक्वीन्टल अनुदान ६५ रुपैयाँ २८ पैसा रहेको मन्त्रालयकी उपसचिव एवं सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

तर सरकारले तोकेको उखुको मूल्यप्रति भने नेपाल उखु उत्पादक महासंघले आपत्ति जनाएको छ । चिनीको मूल्य एक किलोमा ३२ रुपैयाँले बढ्दा उखुको मूल्य भने निकै कम मात्रामा बढाउनु किसानलाई खेतीबाट विस्थापित गर्ने चाल भएको महासंघका अध्यक्ष कपिलमणि मैनालीको आरोप छ ।

‘चिनीको मूल्य ५८ रुपैयाँ किलो हुँदा किसानले ५३६ रुपैयाँ प्रतिक्वीन्टल उखुको दाम पाएका थिए तर चिनीको मूल्य ९० रुपैयाँ हुँदा ८ रुपैयाँले उखुको मूल्य बढाउनु किसान मार्ने खेल हो,’ मैनालीले भने ।

उखुको न्यूनतम् समर्थन मूल्य तोक्दा सरकार चिनी उद्योगीसामु झुकेको पनि मैनालीको आरोप छ । नयाँ मूल्य स्वीकार नगर्न विभिन्न चिनीमिलहरुसँग छलफल तीव्र पारिएको र सोको घोषणा आइतबार गरिने मैनालीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०८:००