सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति चुनाव

चुनावी नतिजा आफ्नो पक्षमा उल्ट्याउने प्रयासमा अमेरिकी राष्ट्रपति ट्रम्प असफल

एजेन्सी । पराजित भएको चुनावको नतिजा आफ्नो पक्षमा उल्ट्याउने प्रयासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प असफल भएका छन् । ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरेको हो ।

टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका चार ब्याटलग्राउण्ड राज्यहरु जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध गर्न माग गरी सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले स्थानीय समय अनुसार शुक्रबार बेलुका सो मुद्दामा फैसला दिएको हो ।

सर्वोच्च अदालतले संक्षिप्त आदेशमा सो माग खारेज गरेको हो । मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको बताएको हो । सर्वोच्च अदालतले फैसलामा भनेको छ, ‘अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउँदा कानूनी आधार छैन ।’

यसअघि गएको मंगलबार सर्वोच्च अदालतले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गरी दायर गरेको मुद्दा खारेज गरेको थियो । अमेरिकी सर्वोच्च अदालतमा हाल कन्जरभेटिभ न्यायाधीशको ६–३ को बहुमत रहेको छ ।

ट्रम्पले लगातार बिना कुनै प्रमाण र निर्वाचन सुरक्षा तथा अनुगमन अधिकारीको प्रमाणयुक्त भनाई विपरित चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका छन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिन्छ । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउने पक्का भएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार ०७:१८