सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक हत्याको घटनासँगैं देशभर सुरक्षा सतर्कता बढाउन प्रहरीको निर्देशन

काठमाडौं । नेपाल प्रहरीले मुलुकभर सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको छ ।

कानून विपरीतका आपराधिक घटना बढ्न सक्ने जनाउँदै ७७ वटै जिल्लाका प्रहरीलाई उच्च सावधानीका साथ सुरक्षा सतर्कता बढाउन निर्देशन दिएको हो ।

प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले यसअघिदेखि नै लागू हुँदै आएको सुरक्षा योजनालाई अझै कडाइका साथ पालना गर्न निर्देशन दिएको बताउनुभयो ।

गत मंगलबार मोरङको मिक्लाजुङमा शिक्षक राजेन्द्रकुमार श्रेष्ठको बर्बतापूर्ण तरिकाले हत्या भएको थियो । उक्त हत्यामा नेत्रविक्रम चन्द समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

घटना भएको भोलिपल्ट गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायमा प्रमुखसँग ‘सुरक्षा ब्रिफिङ’ लिएको थियो ।

गतिविधि आपराधिक हुन थालेपछि सरकारले विसं २०७५ फागुन २८ गतेबाट चन्द समूहका गतिविधि रोक्ने निर्णय गरेको थियो ।

यसपछि प्रहरीले उपल्लोस्तरका नेतासहित झण्डै दुई हजारलाई पक्राउ गरी कारवाही गरेको थियो । तीमध्ये एक हजार ८९४ मुद्दा दर्ता भएको छ ।

पक्राउ परेकामध्ये धेरै छुटेका छन् । प्रहरीका अनुसार १३८ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु सबै छुटेका छन् । ४६ जनाविरुद्ध अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार १०:३४