सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य

मेडिकल कलेजमा आइसियु र भेन्टिलेटरको संख्या दोब्बर गरेसँगै उपचारमा सहजता

बाँके । नेपालगन्ज मेडिकल कलेजले नेपालगन्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा आइसियु शैय्या र भेन्टिलेटरको संख्या दोब्बर गरिएको छ । कोरोनाका गम्भीर बिरामी र अन्य रोगका जटिल बिरामीहरुको उपचारका लागि मेडिकल कलेजले आइसियु शैय्या र भेन्टिलेटरको संख्या बढाएको हो ।

आइसियु शैय्या र भेन्टिलेटरको संख्या बढाएसँगै कोरोनाका गम्भीर बिरामी र अन्य रोगका जटिल बिरामीहरुको उपचारमा थप सहज भएको छ । मेडिकल कलेजले शिक्षण अस्पताल नेपालगन्जमा २० वटा आइसियु शैय्या, सातवटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड मेसिन थप गरेको छ ।

कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गएकाले पछिल्ला दिनमा कोरोनाबाहेक अन्य रोगका कारण स्वास्थ्य अवस्था जटिल भएका बिरामीहरुले आइसियु र भेन्टिलेटर पाउन मुस्किल बनेका बेला आइसियु शैय्या र भेन्टिलेटरको संख्या बढाएपछि उपचारमा थप सहज भएको मेडिकल कलेजका असिस्टेन्ट प्रोफेसर एवं मेडिसिन विभाग प्रमुख डा.आशिम किदवाईले बताए ।

आइसियु शैय्या र भेन्टिलेटरको संख्या बढाएसँगै पनि थपेका शिक्षण अस्पताल नेपालगन्जमा आइसियुको शय्याको संख्या ५२ र भेन्टिलेटरको संख्या १४ पुगेको छ । त्यस्तै शिक्षण अस्पताल कोहलपुरमा ३२ वटा आइसियु शैय्या, चारवटा भेन्टिलेटर र एउटा पोर्टेबल अल्ट्रासाउन्ड थपेर मेडिकल कलेजले आइसियु शैय्या संख्या ५२ र भेन्टिलेटरको संख्या १० पुर्याएको छ ।

आइसियु शैय्या र भेन्टिलेटरको संख्या थप भएपछि गम्भीर प्रकृतिका बिरामीहरुको उपचार थप प्रभावकारी र व्यवस्थित हुने मेडिकल कलेजका असिस्टेन्ट प्रोफेसर एवं मेडिसिन विभागका प्रमुख डा.आशिम किदवाईले बताए । यहाँका अस्पतालहरुमा आइसियु शय्या र भेन्टिलेटर नपाएर दैनिक १० देखि १५ जनासम्म बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था थियो ।

बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएपछि मेडिकल कलेज व्यवस्थापनले करिब चार करोड रुपैयाँ लागतमा आइसियु शय्या र भेन्टिलेटरसहितका उपकरणहरु थप गरेको कलेजका सहायक निर्देशक डा.नितेश कनोडियाले बताए । २४ वर्षअघि स्थापना भएको नेपालगन्ज मेडिकल कलेजको कोहलपुर र नेपालगन्जस्थित शिक्षण अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका प्रदेशका दैनिक एक हजारभन्दा बढी बिरामीहरुलाई उपचार दिँदै आएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार ०७:१७