काठमाडौं । नेपाल प्रहरीका डिआइजी विश्वराज पोखरेललाई सरकारले एआइजीमा बढुवा गरेको छ । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डिआइजी पोखरेललाई एआइजीमा बढुवा गर्ने निर्णय लिएको हो ।
पोखरेललाई प्रहरी मुख्यालयमा पदस्थापन गरिएको छ । संसदको राज्य व्यवस्था समितिले बुधबार मात्रै कुनै एक व्यक्ति विशेषका लागि दरबन्दी थप्न नहुने भन्दै पोखरेलको बढुवा सिफारिस रद्द गर्न सरकारलाई निर्देशन दिएको थियो ।
तर संसदीय समितिको निर्देशनको भोलिपल्टै सरकारले पोखरेललाई भावी आइजीपीका रुपमा एआइजीमा बढुवा गरिदिएको हो । बुधबारको संसदीय समितिको निर्देशनले भावी आइजीपी बन्न तम्तयार पोखरेललाई अफ्ठ्यारो पर्ने अवस्था देखिएको थियो ।
तर सरकारले उनलाई एआईजीमा बढुवा गर्न भएको सिफारिसलाई बिहीबार कार्यान्वयन गरेपछि संसदीय समितिको निर्देशन पनि बेकामे भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको विशेष चासोमा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत समर्थन जनाएपछि पोखरेल एक्लै एआईजीमा बढुवा भएको बताइएको छ ।
गत मंसिर ३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा १ जना एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । संसदीय समितिले एउटा एआईजी पद थप भएको विषयमा गृहमन्त्रीलाई जानकारी नभएको भन्दै रोष प्रकट गरेको थियो ।
यसबारेमा आफूलाई थाहा नभएको बताएपछि संसदीय समितिले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नै बोलाएर दरबन्दी थप्ने निर्णय रोक्न निर्देशन दिएको थियो । यद्यपि गृहमन्त्री थापाले एआइजी थपको काम प्रक्रिया अनुसार नै भएको दाबी गरेका थिए । गृहमन्त्रीले दरबन्दी थप र बढुवा सिफारिस प्रक्रिया सम्मत भनेको भोलिपल्टै पोखरेल एक्लै एआइजी भएका हुन् ।
सत्यपाटी ।