सूचनाको शक्ति - The Power Of Information

        

विप्लव समूहले भन्यो, ‘राजेन्द्र हतियार लिएर आक्रमण गर्न आउँदा प्रतिकारमा मारिए’

काठमाडौं । मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) समूहले लिएको छ ।

पार्टीको मेची-कोशी ब्युरोले मंगलबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्याको जिम्मा लिएको हो ।

लामो समयदेखि सुराकी गर्दै आएको र सच्चिन पटक पटक भन्दा पनि नमानेपछि शिक्षकको हत्या गरिएको माओवादीले स्पष्ट पारेको छ ।

मंगलबार बिहान पनि शिक्षक श्रेष्ठलाई सम्झाइबुझाइ गर्न जाँदा हतियार लिएर आएकाले प्रतिकारका क्रममा उनको मृत्यु भएको जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ ।

शिक्षक श्रेष्ठले आफ्नो पार्टीलाई दमन गर्न प्रहरी परिचालन गरेको, जनताका घर घरमा प्रहरी पठाएर नेकपा कार्याकर्तालाई खान बस्न नदिन भनेको, पार्टीको मेची-कोशी ब्युरोको बैठकमा प्रहरी बोलाएर दमन गराएकोलगायत आरोप माओवादीको छ ।

मंगलबार विहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका प्रधानाध्यापक श्रेष्ठलाई नृशंशतापूर्वक हत्या गरिएको फेला पारिएको थियो ।

उनको गोली प्रहारबाट हत्या गरिएको भनिएतापनि घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले श्रेष्ठको शव हेर्दा घाँटी रेटेर हत्या गरेको पाइएको बताउनुभयो ।

श्रेष्ठलाई जंगलमा लगेपछि हात बाँधेर घाँटी रेटेको पाइएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार ०८:०६