सूचनाको शक्ति - The Power Of Information

        

विवेकशील नेपाली दल र साझा पार्टीबीचको एकीकरण घोषणा बुधबार

काठमाडौँ ।  विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार एकता हुने भएको छ । बुधबार भ्रष्टाचारविरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा दुई पार्टीबीच एकीकरण हुने लागेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।

दुई पार्टीबीचको एकता घोषणाको पूर्वसन्ध्यामा साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आफूहरुबाट विगतमा कमजोरी भएको भन्दै माफी मागेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी एक हुँदैछौँ।

विगतका कमजोरीप्रति क्षमायाचना गर्दछौँ। तपाईंको साथ र सहयोगले ‘विवेकशील साझा पार्टी’लाई देशको वास्तविक रूपान्तरणको संवाहक बनाउँछौँ भन्नेमा हामी विश्वस्त छौँ।’

त्यस्तै उनले आफूहरु ‘अस्तित्व’मा रहन मात्र नभएर ‘नेतृत्व’मा पुगेर यो देशमा सुशासन, सम्वृद्धि र स्वाभिमान स्थापित गर्न जन्मिएको पार्टी भएको पनि बताएका छन् ।

पहिले दुई पार्टीका रुपमा रहेका विवेकशील र साझा एकीकरणमार्फत बीचमा एउटै दल भए पनि बीचमा फुटेका थिए । दुई पार्टीबीच एकीकरण गर्ने विषयमा विवेकशीलमा मतदान भएको थियो भने साझाले केन्द्रीय कमिटीको बैठकबाट अनुमोदन गराएको थियो ।

विवेकशील नेपाली दलकी केन्द्रीय उपाध्यक्षसहित १३ नेता भने साझा पार्टीसँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टीमा मतदानपछि बहुमत सदस्यहरूले रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीसँग सहभागी हुने पक्षमा मतदान गरेका थिए ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ११:५९