सूचनाको शक्ति - The Power Of Information

        

विकासमा बेतिथि

काममा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारबाहीको चेतावनी

फाइल तस्वीर

बाँके । बाँकेमा समयभित्रै काम सम्पन्न गर्न नसक्ने देखिएका योजनालाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनीको ध्यानाकर्षण गराइएको छ । सडक पूर्वाधार विकास कार्यालय बाँकेले गत आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन भएका चारवटा योजनाको काम सन्तोषजनक नभएको भन्दै निर्माण कम्पनीको ध्यानाकर्षण गराएको हो ।

राज विल्डर्स, सुप्रिम निर्माण सेवा सुर्खेत, पूर्णा निर्माण सेवा बाजुरा र एसबी कन्स्ट्रक्सन सुर्खेतलाई सडक पूर्वाधार विकास कार्यालयले ठेक्का सम्झौता गरी हालसम्म पनि निर्माण कार्य सुरु नगर्ने तथा निर्माण कार्यमा ढिलासुस्ती गरेको भन्दै कारबाहीको चेतावनीसमेत दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख इञ्जिनियर गोविन्द महताराले बताए ।

योजनाको जिम्मा लिएका केही निर्माण व्यवसायीले हदैसम्मको लापरबाही गरेपछि उनीहरूलाई कारबाहीको प्रक्रिया सुरु गरिएको पनि उनले जानकारी दिए । उनले तत्कालै द्रुतगतिमा कार्य सञ्चालन नगरेमा केही दिनमै निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बैङ्क ग्यारेन्टी रोक्का गरिने प्रक्रिया थालिने बताए ।

राज विल्डर्सले जिम्मा पाएको शिवपुरी–खजुरा सडकमा कल्भर्ट निर्माण, सुप्रिम निर्माण सेवाले जिम्मा पाएको डुडुवाको जाफरपुरवामा कल्भर्ट, पूर्णा निर्माण सेवाले जिम्मा पाएको नेपालगन्ज–५ को सडक पीसीसी र एसबी कन्स्ट्रक्सनले जिम्मा पाएको जानकीको सडक कालोपत्रेको सम्झौता अवधि पुसमा सकिँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०८:४३