सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

गम्भीर अवस्थाका ४५ जना कोरोना सङ्क्रमित आइसीयूमा

बाँके । बाँके जिल्लाका दुईवटा प्रमुख अस्पतालमा ४५ जना सङ्क्रमितको आइसीयूमा राखेर उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पताल नेपालगन्जको कोभिड विशेष अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा उपचार गराइरहेका ९५ जनामध्ये ४५ जनाको अवस्था निकै गम्भीर रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको छ ।

बाँकेका कोरोना सम्पर्क व्यक्ति तेज ओलीले हाल भेरी विशेष कोरोना अस्पताल र मेडिकल कलेज कोहलपुरमा ४५ जनाको अवस्था गम्भीर रहेकाले उनीहरूको आइसीयूमा राखेर उपचार भइरहेको बताए । उनले सङ्क्रमितको उपचारका लागि दिनदिनै प्लाज्मासमेत आवश्यक परेकाले दैनिकरूपमा प्लाज्मा लिने कार्य पनि निरन्तर जारी रहेको जानकारी दिए

हालसम्म बाँकेमा सङ्क्रमित भएर निको भएका ८८ जनाले प्लाज्मा दान गरिसकेको पनि कोरोना सम्पर्क व्यक्ति ओलीले बताए । गम्भीर अवस्थाका सङ्क्रमितलाई आवश्यक पर्ने सबै प्रकारका उपचार पद्धति अपनाइने गरिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

त्यसैगरी लक्षण नदेखिएका बाँकेका १०१ जना सङ्क्रमित हाल होम आइसोलेसनमा रहेको पनि व्यवस्थापन केन्द्रले जनाएको छ । सो केन्द्रका अनुसार जिल्लामा हालसम्म चार हजार ३१ जनामा कोरोना सङ्क्रमण देखिएकोमा तीन हजार ७९७ जना निको भएर घर फर्किसकेका छन् भने ३९ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०८:३७