सूचनाको शक्ति - The Power Of Information

        

सर्वदलीय बैठक

करीब सात महिनापछि प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

समसामयिक विषयमा छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समसामयिक राजनीतिका विषयमा छलफल गर्न’ भन्दै बोलाएको सर्वदलीय बैठक आज बिहान ११ बजे बालुवाटारमा बस्दैछ।

प्रधानमन्त्री ओलीले मंगलबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बैठकमा बोलाएका हुन्। करीब सात महिनापछि सर्वदलीय बैठक बस्न लागेको हो। यसअघि नेपालको भूमि मिचेर भारतले सडक बनाएपछि गएको ३१ वैशाखमा सर्वदलीय बैठक बसेको थियो।

यसपटक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको संकट चुलिएका बेला प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गर्न लागेका हुन्। समसामयिक विषयमा भनेर बोलाइएको छलफलको विषय खुलाइएको छैन।

नेकपामा शक्ति संघर्ष चुलिएपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले गत असारमा संसदको बर्खे अधिवेशन हठात् अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। आउँदो १८ पुसभित्र संसद अधिवेशन बोलाइसक्नुपर्ने संवैधानिक बाध्यता छ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस मात्र होइन, सत्तारुढ नेकपाभित्रै समेत संसद अधिवेशन बोलाउनुपर्ने माग भइरहेको छ। विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको आन्तरिक समस्या अल्झिएको आरोप लगाउँदै आएका छन्।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०८:३२