सूचनाको शक्ति - The Power Of Information

        

नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत

काठमाडौं । युरोपियन युनियन इयुले नेपालको हवाई क्षेत्रलाई कालो सूचीबाट हटाउने संकेत गरेको छ ।

इयुले नेपालको उड्डयन क्षेत्र सुरक्षित नरहेको भन्दै सन् २०१३ देखि कालो सूचीमा राखेको थियो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका अवसरमा इयुले एक विज्ञप्ती जारी गरी नेपालले पछिल्लो समय सुरक्षामा महत्वपूर्ण सुधार गरेको बताएको छ ।

विज्ञप्तमिा इयुले सुरक्षित हवाइ उडानका लागि नेपाल सरकार र युनियनका सदस्य राष्ट्रहरूको संयुक्त प्रयासबाट सुधार भएको उल्लेख गरेको छ ।

सरकारले पछिल्लो समय जुन प्रयास गरेको छ ती प्रशंसनीय रहेको र हवाई सुरक्षाका चुनौतीसँग जुध्न संयन्त्र विकास गर्न सकारात्मक कदम चालेको विज्ञप्तीमा भनिएको छ ।

इयुको कालो सूचीपछि नेपाली एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध थियो । नेपाललाई कालो सूचीबाट हटाउन विभिन्न चरणका प्रक्रिया रहेका छन् ।

इयुका अनुसार पहिलो चरणमा ब्रसेल्समा हुने प्राविधिक बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेका पछिल्ला सुधारबारे छलफल हुनेछ । त्यस्तै दोस्रो चरणमा इयुको सुरक्षा टोलीले नेपालको स्थलगत भ्रमण गर्नेछ ।

यसपछि इयुको सुरक्षा नियोगले कालो सूचीबाट हटाउन इयुको हवाई सुरक्षा कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्नेछ । सन् २०१३ मा नेपालको उड्डयन क्षेत्र असुरक्षित भएको भन्दै इयुले गम्भीर सुरक्षा चासो राखेको थियो ।

त्यसलगत्तै युरोपियन कमिसनको स्थलगत भ्रमण भएको थियो । उक्त भ्रमणबाट अन्तर्राष्ट्रिय उड्डयन निकाय (आइकाओ) ले देखाएका सुरक्षा चासोहरू सम्बोधन नभएसम्म सुरक्षा सूचीमा राख्नुपर्ने सुझाव दिएको थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०९:०७