सूचनाको शक्ति - The Power Of Information

        

विकास

हिउँदे बालीमा सिक्टाको पानी, किसान उत्साहित

बाँके । सिक्टा सिँचाइ आयोजनाले हिउँदे सिजनको खेतीका लागि पहिलो पटक पानी उपलब्ध गराएपछि बाँकेका किसानहरु उत्साहित छन् । आयोजनाले किसानको मागअनुसार पश्चिमी मुल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजानाथ क्षेत्रको किसानहरुले करिब २० हजार हेक्टरमा गहुँ तथा तोरी खेतीका गरेका छन् ।

विगतका वर्षहरुमा धान उठाएपछि बाँझै रहने खेतमा यस वर्ष सिँचाइ सुविधा उपलब्ध भएपछि गहु र तोरी खेती सुरु गरेको कोहलपुरका किसान शब्बिर सल्मानीले बताए । सिँचाइ सुविधा उपलब्ध भएपछि यस वर्ष बाँकेमा गहुँ र तोरी खेती गर्ने किसानहरुको संख्या पनि करिब २० प्रतिशत बढेको छ ।

सिक्टाको नहरमा पानी चलेपछि यो वर्ष बाँकेमा धानको उत्पादनमा करिब २५ प्रतिशतले बढेको छ । बैजनाथका किसान शिवप्रसाद थारुले भने, ‘सिँचाइ सुविधा भएपछि धान राम्रो फल्यो अब गहु र तोरी पनि राम्रो फल्ने आशा छ ।’

सिक्टाको मुल नहरको निर्माण कार्य सम्पन्न भए पनि मुल नहरको पानी किसानको खेतबारीमा पानी पुर्याउने शाखा र प्रशाखा निर्माण सम्पन्न भइनसकेकाले किसानहरुले नहरबाट पम्पसेट लगाएर पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेका सिक्टा सिचाई आयोजनाका प्रमुख लोक बहादुर थापाले बताए ।

मुल नहरबाट किसानको खेतसम्म पानी पु¥याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब १०० किलोमिटर नहर निर्माणको काम भइरहेको छ । बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो ।

तर, निर्माण सम्पन्न हुनु पर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत मात्रै सकिएको छ । आयोजना सुरु हुँदा १२ अर्ब ७० करोड रुपैयाँको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएका थियो ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०८:३५