सूचनाको शक्ति - The Power Of Information

        

श्वेताको भावुक पत्र

‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ भन्नेहरुलाई मेरो निर्णयले पोल्नेछ’

जीवनका बिभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख–दुःख अनि हाँसो–रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आइपुगेकी छु । जिन्दगीको यो मोडसम्म आइपुग्दा मैले जेजस्ता पीर, ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यसभित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । ‘अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न’ भनेझैं समयको दुस्चक्रले ममाथि प्रहार गरेका अनेकन प्रहार र त्यसबाट मैले भोगेको पीडाहरु केवल मलाईमात्र थाहा छ ।

म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो, जसमा तिखा काँडा, ठुलाठुला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनुपर्नेछ, पत्थरहरुलाई फुटाउनुपर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नुपर्नेछ । ‘के म यसो गर्न सकुँला र ?’ आँफैसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आफैले उत्तर दिन्थें, ‘कि हुती हारेर मर्नुपर्छ कि त हिम्मतका साथ अघि बढ्नुपर्छ ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें । अनि जिन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।

‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिडिरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु । ‘अब उठ्नै सक्दिन कि’ भन्ने कमजोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदोरहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदोरहेछ । मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिँड्नुभन्दा पनि कठिन रहेछ ।

तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसँग ? मैले साथीसंगतीहरुको भीडमा आँखा डुलाएर हेरें, तर मेरो पीडालाई महशुस गर्न सक्ने कोही देखिनँ । आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पीडा पोखेर माइतीलाई थप तनाव दिनुहुन्न भन्ने मनन गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ अनि अनेकन समस्याहरुसँग एक्लै जुधिरहें । ‘मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन्, तर एकपटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाइन्छ र ?

 

फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनि विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाइएला र ? लौ, भनेकोजस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनि के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें । आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पीडालाई भुलाउने एउटा बाहाना पाएकी छु । मेरो अतितलाई सहर्ष स्वीकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु ।

म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु । त्यसो भन्दैमा मैले मेरो अतितलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनि साथीसंगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नुभएको हौशला, साहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु ।

यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवश्य छ, ‘के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्वीकार गर्ला र ?’ मलाई थाहा छ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनुपर्छ’ भन्ने सोच बोकेका दुई चारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्र्याउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नुपर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर मप्रति साहनुभूति राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनि सँधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशीर्वाद, सदभाव र सुभेच्छाले मप्रति रिस र इर्ष्याको सोच राख्ने दुई चारजनाले स्वतः हार खानेछन् ।

अतः कोरोनाको सन्त्रासका बीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, सञ्चारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दैगर्दा तपाईंहरु सम्पूर्णले मलाई आशीर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वास लिएकी छु ।

 

उही तपाईंकी छोरी/चेली
श्वेता खड्का

 

https://www.facebook.com/shwetakhadkaofficialnp/posts/3034168336683290

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०८:२५

सिफारिस