सूचनाको शक्ति - The Power Of Information

        

आर्सनललाई हराउँदै टोटनहाम शीर्षस्थानमा, लिभरपुलले वुल्भसलाइ हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा टोटनहाम हटस्पर विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा टोटनहामले आर्सनललाई २-० ले हराएको हो । टोटनहामको जीतमा सनह्युङ मिन र ह्यारी केनले १-१ गोल गरेका थिए । दुवै गोल पहिलो हाफमा भएका थिए ।

खेलको १३औं मिनेटमा सनह्‍युङमिनले गोल गर्दै टोटनहामलाई अग्रता दिलाएका थिए । उनले ह्‍यारी केनको एसिस्टमा गोल गरेका थिए ।पहिलो हाफको इन्ज्युरी समयमा सनको पासमा केनले गोल गरेपछि खेलमा टोटनहामले २ ० को अग्रता लिएको थियो ।

दोस्रो हाफमा आर्सनल खेलमा फर्कन प्रयासरत रहेपनि गोल फर्काउन सकेन र खेल टोटनहामले जित्दै महत्वपूर्ण ३ अंक हात पार्न सफल भयो । जीतसँगै ११ खेलबाट २४ अंक भएको टोटनहाम अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

पराजित आर्सनल भने १३ अंकसहित १५औं स्थानमा छ ।

वुल्भसमाथि सहज जीत दर्ता गर्दै लिभरपुल दोस्रोमा

गएराति नै सम्पन्‍न अर्को खेलमा साविक विजेता लिभरपुलले पनि जीत हासिल गरेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले वुल्भरह्‍याम्पटन वान्डर्रसलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।

लिभरपुलको जीतमा मोहमद सालाह, जर्जिनियो विजनाल्डम र जोल मातिपले १-१ गोल गरे भने एक गोल वुल्भसका तर्फबाट आत्मघाती भएको थियो ।

खेलको २४औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८औं मिनेटमा विजनाल्डमले गोल गरेपछि लिभरपुलको अग्रता दोब्बर भएको थियो ।

६७औं मिनेटमा मातिपले गोल थप्दै लिभरपुललाई ३-० ले अघि बढाए । ७८औं मिनेटमा वुल्भसका नेल्सन सेमेडोबाट आत्मघाती गोल भएपछि लिभरपुलको ४-० को जीत पक्का भएको थियो ।

जीतसँगै ११ खेलबाट २४ अंक भएको लिभरपुल दोस्रो स्थानमा कायम छ । टोटनहामको पनि २४ अंक छ तर गोलअन्तरका आधारमा टोटनहाम अघि रहँदै शीर्षमा रहेको छ । पराजित वुल्भस भने १७ अंकसहित १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार ०७:५८