सूचनाको शक्ति - The Power Of Information

        

नेकपा मुख्यालय धुम्बाराहीको सुरक्षा व्यवस्था कडा

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकलाई मध्यनजर गरेर पार्टी कार्यालय धुम्बाराही क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीसहितको सुरक्षा टोलीले नेकपा पार्टी कार्यालय रहेको धुम्बाराही क्षेत्रमा गस्ती गरेको छ । प्रहरीको टेकू परिषरबाट एसएसपीको नेतृत्वको प्रहरी टोली सुरक्षाका लागि खटिएको छ ।

यस्तै सुरक्षाकर्मीले तालिम प्राप्त कुकुर पनि त्यहाँ तैनाथ गरिएको छ । बम डिटेक्टरसहितको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । दिउँसो १ बजे बस्ने भनिएको नेकपा स्थायी कमिटि बैठकको रिपोर्टिङ्गका लागि पुगेका पत्रकारहरुलाई समेत पार्टी कार्यालयमा प्रवेश गर्न दिइएको छैन ।

स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने सम्भावना रहेको छ । तर उनी सहभागी हुने–नहुने स्पष्ट भने भएको छैन ।

यसअघि पार्टी कार्यालयमा गर्ने तय भएको केन्द्रीय सचिवालयको बैठक ओलीले सुरक्षा जोखिमको सूचना आएको भन्दै अन्तिम समयमा प्रधानमन्त्री निवास बालुवाटारमै गराएका थिए ।

नेकपामा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षबिचको विवाद उत्कर्षमा पुगेको छ । स्थायी कमिटिमा दुवै अध्यक्षका प्रस्ताव पेश गर्ने तयारी छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार १३:२४