सूचनाको शक्ति - The Power Of Information

        

गैँडाको खाग तस्करीमा संलग्‍नमध्ये तीनजना पक्राउ, एकजना अझै फरार

काठमाडौं । रूपन्देहीको बुटवल उपमहानगरपालिका-८ सुख्खानगरमा रहेको कलश होटलबाट प्रहरीले गैँडाको खागसहित तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सुर्खेतको लेकबेँसी गाउँपालिकाका ३१ वर्षीय भक्तबहादुर थापा, जाजरकोटको बारेकोट गाउँपालिका-४ बस्ने २६ वर्षीय कर्णबहादुर राउत र काठमाडौं महानगरपालिका-१ वसन्तपुर बस्ने २६ वर्षीय राकेश न्यौपाने छन्।

उक्त होटलमा गैँडाको खाग तस्करी हुँदै गरेको सूचनाको आधारमा खटिएको इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी नायव उपरीक्षकको कमाण्डको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

नियन्त्रणमा लिने क्रममा उनीहरूले प्रहरीसँग भएको पेस्तोल खोसी गोली चलाउँदा उनीहरूमध्येकै राकेश न्यौपाने घाइते भएको प्रहरीले बताएको छ।

उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ। तस्करीमा संलग्न एकजना भने फरार भएका छन्।

फरार भएकालाई खोजी गर्दै घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक प्रतीतसिंह राठौरले बताए।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार १३:१८