सूचनाको शक्ति - The Power Of Information

        

नेकपाभित्रको विवाद

नेकपा स्थायी कमिटी बैठक बस्दै, विवादमा सहमति जुटाउन सचिवालय विफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा बैठक बस्ने छ ।

नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लैजाने निर्णय भएको छ । हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनु भएको हो ।

प्रवक्ता श्रेष्ठले पार्टीको समस्याका विषयमा छलफल भए पनि निष्कर्ष ननिस्किएपछि केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा अलगअलग प्रस्तुत आरोप प्रत्यारोपका पत्रहरु स्थायी कमिटीमा बुझाइने र सोही बैठकले विवादको निरुपण गर्ने बताउनुभयो ।

स्थायी कमिटी बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहेन प्रवक्ता श्रेष्ठको भनाइ छ ।प्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो अन्तरपछि हिजो भएको आधा घण्टा लामो एक्ला–एक्लै छलफलपछि सचिवालय बैठक बसेको हो ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याउनु भएको थियो भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ११:१३