सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक हिनामिना

सहकारीको ४३ करोड हिनामिना प्रकरण : अध्यक्षसहित ४१ जनामाथि मुद्दा

७ जना पुर्पक्षका लागि कारागार चलान, ६ जना अझै फरार, २८ जना धरौटीमा छुटे

बाँके । बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ । बचत गरेको रकम डेढ वर्षसम्म फिर्ता नपाएपछि १ हजार बचतकर्ता समस्यामा परेका छन् ।

सहकारी वित्तीय विकास संस्थाको रकम हिनामिना भएको सार्वजनिक भएपछि २०७६ जेठदेखि यो बन्द छ । रकम घोटालामा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले सहकारीका अध्यक्ष हरदेव बक्स चौधरीसहितलाई मुद्दा चलाएको हो । ७ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने अझै पनि ६ जना फरार छन । २८ जना धरौटीमा छुटेका छन् ।

संस्थाका अध्यक्ष, संचालक समितिका सदस्य, कर्मचारीसहित ४१ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय बाँकेले २०७६ असोज २८ गते सहकारी ऐन, ठगी र संगठित अपराध कसुरमा जिल्ला अदालत बाँकेमा मुद्दा दर्ता गरेको थियो । १० वर्षदेखि नक्कली कागजपत्र बनाएर नेपालगन्जको यो सहकारीका संचालक, कर्मचारी र लेखा परीक्षक लगायत मिलेर रकम अपचलन र ठगी गर्दै आएका थिए ।

डेढ वर्षदेखि निरन्तर दबाब दिँदा पनि सहकारीले ११ हजार ४०८ जना बचतकर्ताको रकम फिर्ता नगरेको पीडित संघर्ष समितिका सदस्य आशुतोष शुक्लाले बताए । आफ्ना समस्या सहकारीमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत पटकपटक ध्यानाकर्षण गराइँदा पनि कुनै सुनुवाई नभएको शुक्लाले बताए । बाँके प्रहरीले विज्ञहरुको सहयोगमा अनुसन्धान गर्दा हिनामिना भएको वास्तविकता फेला पारेको हो । २०५१ सालमा स्थापित यो सरकारी बाँकेकै सबैभन्दा पुरानो हो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ०७:२६