सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

केन्द्रीय कमिटीमै अल्पमतमा ओली : तर दुवै पद नछाड्ने अडान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्थायी कमिटीको बैठक राख्ने कुरामा असहमति जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले स्थायी कमिटीको बैठक राख्न असहमति जनाएका हुन् । यो असहमतिसँगै आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा उनको उपस्थिति पनि अनिश्चित भएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको समस्या समाधानका लागि स्थायी कमिटीका बैठक पूर्वनिर्धारित समयमै बस्ने बताएपछि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले असहमति जनाएको स्रोतले बताएको छ । ‘तपाईँहरुले बहुमत र अल्पमतको खेल खेल्न स्थायी कमिटीमा जान खोज्नुभएको होला । तर, म जहाँ लगेर छलफल गरे पनि महाधिवेशनसम्म अध्यक्ष र अर्को निर्वाचनसम्म प्रधानमन्त्रीको पद छाड्दिनँ’ स्रोतले प्रधानमन्त्री ओलीको भनाईलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले स्थायी कमिटीको बैठक आवश्यक छैन ।’

ओलीको असहमतिबीच स्थायी कमिटीको बैठकमा राखिएको छ । त्यहीकारण उनी उपस्थित हुने नहुने भन्ने अनिश्चित छ । उनले बैठकको निश्चित एजेण्डासमेत नभएकाले त्यसको आवश्यकता भएको औंल्याएको बुझिएको छ । अध्यक्ष दाहालसहित बहुमत सदस्यले पार्टीभित्रको विवाद समाधानका लागि भन्दै स्थायी कमिटीमा छलफल गर्नुपर्ने अडान राखेका छन् । त्यही अनुसार भोलिका लागि पूर्वनिर्धारित समयमै बैठक बोलाइएको बताइएको छ ।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक राख्न प्रधानमन्त्री ओलीलाई दबाव दिइरहेका छन् । प्रधानमन्त्री ओलीकै कारणले पार्टीमा पटक पटक समस्या निम्तिएको भन्दै उनको एउटा पद खोस्ने रणनीति प्रचण्ड–नेपाल समूहले बनाएको छ । तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस हुने पक्षमा छैनन् ।

नेकपाभित्र यसअघि देखिएको विवादमा प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामाको माग भएको थियो । तर, दुवै पदबाट ओलीको राजीनामा माग्दा पार्टी एकता संकटमा पर्नसक्ने भन्दै उनीहरुले एक पद छाड्नै पर्ने बताएका थिए । तर, ओली त्यसमा सहमत भएनन् । प्रचण्ड–नेपाल पक्षले एक पदबाट हट्नुपर्ने बताइरहेको बेला बैठकमा मोर्चाबन्दी हुने देखिएपछि ओलीले बैठक टार्न खोजेको स्रोतको दाबी छ । सचिवालयमा मात्रै नभएर स्थायी कमिटी, केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतवार ०७:०५