सूचनाको शक्ति - The Power Of Information

        

१०० दिन मास्क लगाउन जो बाइडेनले अमेरिकीलाई आग्रह गर्ने

काठमाडौं ।  अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सबै अमेरिकीलाई १०० दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन् ।

आफ्नो कार्यकालको पहिलो १०० दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने बाइडेनले बताएका हुन् । नोभेम्बर ३ मा भएको चुनावमा विजयी भएका बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिने छन् ।

बाइडेनले सिएनएनसँग भनेका छन्, ‘हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास छ ।’ सबै सरकारी भवनहरुमा मास्क अनिर्वाय गर्ने पनि उनले बताएका छन् ।

कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ४१ लाख २२ हजार भन्दा बढि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रले जनाएको छ । अहिलेसम्म दुई लाख ७६ हजार भन्दा धेरै अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ ।

सिएनएनका जेक टापरसँगको अन्तर्वार्तामा बाइडेनले भनेका छन्, ‘मैले सत्ता सम्हालेको पहिलो दिनमा सबै नागरिकसँग १०० दिन मास्क लगाउन आग्रह गर्ने छु । मात्रै १०० दिन, सधैँका लागि होइन । मात्रै एक सय दिन ।’

‘र त्यसको प्रभाव अति हुने अपेक्षा छ । खोपसँगै मास्क पनि लगाइयो भने संक्रमण कम गर्न सकिने छ ।’ संविधानका ज्ञाताहरुका अनुसार अमेरिकी राष्ट्रपतिसँग अमेरिकीलाई मास्क लगाउन आदेश दिने कानूनी अधिकार छैन । तर बाइडेनले आफू र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले मास्क लगाएर उदहारण प्रस्तुत गर्ने बताएका छन् ।

बस, रेल, जहाजसहितका यातायतका साधनमा चढ्दा तथा सरकारी भवनमा जाँदा मास्क लगाउनु पर्ने नियम ल्याउने उनले बताएका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार ०८:१९