सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षा

चार दिनदेखि बनिया गाउँमा भय र त्रास

बाँके । गाउँलेहरुबीच विवादपछि झडप हुँदा एकजना स्थानीय बासिन्दाको मृत्यु भएपछि नेपालगन्जसँगै जोडिएको बनिया गाउँ चार दिनदेखि त्रासमा छ । बनिया गाउँलाई नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले घेरेर राखेका छन् । गाउँमा भय र त्रासको वातावरण रहेको स्थानीयवासी बताउँछन् ।

कुनै पनि बेला गाउँलेहरुबीच झडप हुन सक्ने त्रासले स्थानीय बासिन्दा चार दिनदेखि ढुक्कसंग निदाउन पाएका छैनन् । धेरैको घरमा राम्रोसँग चुलो बलेको छैन । गाउँको बाटो, जग्गाका कारण गाउँका गाउँलेबीच भएको विवाद स्थानीय तहको निर्वाचनपछि राजनीनिक दुश्मनीमा परिणत भएको थियो ।

विवाद मंसिर १५ गते पूर्णिमाका दिन लागेको मेलापछि झडपमा परिणत भएको हो । यही झडपमा बनिया गाउँका ४५ वर्षीय धनिराम यादवको मृत्यु भयो । पाँचजना घाइते भए । धनिरामको मृत्यु भएको तीन दिनपछि आफन्तहरुले अस्पतालबाट शव बुझेर दाहसंसकार गरे पनि गाउँमा डर र त्रासको अवस्था कायमै रहेको स्थानीय दिलाबर बागबानले बताए ।

मुखमा मास्क हेलमेट लगाएर आएका युवाहरुले घरघरमा पसेर धनिरामका युवाहरुमाथि कुटपिट गर्नुका साथै घरमा तोडफोडसमेत गरेको पीडितहरुले बताएका छन् । आक्रमणमा संलग्न युवाहरुले फेरि पनि आक्रमण गर्ने धम्की दिँदै फोन गरेका कारण ढुक्कसँग निदाउन नपाएको अमृता यादवले बताइन् ।

आफन्तको ज्यान जाने गरी आक्रमणमा संलग्न युवाहरुमाथि कडा कारबाही र मृतकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने मृतकका भतिजा कृपाराम यादवले बताए । पीडितका आफन्तहरुले भने घटनामा दिनेश कादुसहित १७ जना संलग्न रहेको दाबी गर्दै किटानी जाहेरी दिएका छन् ।

घटनामा संलग्न रहेका दुईजनालाई पक्राउ गरी प्रहरीले कानुनी कारबाही सुरु गरेको छ । किटानी जाहेरी परेका अन्य युवाहरु भने फरार छन् । गाउँमा तनाब सिर्जना भएपछि करिब ५० जना नेपाल प्रहरी र २५ जना सशस्त्र प्रहरीलाई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सुवास खड्काले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहीबार १५:२०